
काभ्रे । जिल्लाको बनेपामा आज (बिहीबार) श्री दिपंकर संघको आयोजनामा सम्मान तथा पञ्चदान कार्यक्रम सम्पन्न गरेको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एसईई उतीर्ण गरेका भाइबहिनीहरुलाई सम्मान गरिएको छ भने गुँलाबाजा सिकेकाहरुलाई मायाको चिनो सहित सम्मान गरेको छ ।
बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा बनेपाको पारावर्त महाविहारबाट विधिवत् रुपमा सुरु भई पुरानो बजार, गोदामचोक र लोकेश्वरमा पुगेर पहिलो चरणको पञ्चदान सकिने गर्दछ । त्यसैगरी साँझ पारावर्त महाविहारबाट दिपङ्कर बुद्धलाई नगरका विभिन्न स्थानमा गुँला बाजा सहित परिक्रमा गराइ मनाउने गरिन्छ । पञ्चदानमा अन्न, गेडागुडी, फलफूल, पानी (सर्वत), नुन, दक्षिणा, धान लगायत दान गरिन्छ ।


