ट्रेण्डिङ

जबसम्म मूर्त/अमूर्त जात्रा, संस्कृति हुन्छ तबसम्म काठमाडौं रहन्छ: उपमेयर डंगोल

मूर्त तथा जीवन्त/अमूर्त सम्पदाको अभिलेखिकरण दस्तावेज विमोचन कार्यक्रम
जबसम्म मूर्त/अमूर्त जात्रा, संस्कृति हुन्छ तबसम्म काठमाडौं रहन्छ: उपमेयर डंगोल

काठमाडौं । नेवा: नुग र काठमाडौं महानगरपालिका वडा नं. २३ को संयुक्त आयोजनामा भएको काठमाडौंको सबैभन्दा जीवन्त पर्व येँया: (इन्द्रजात्रा) को मूर्त तथा जीवन्त/अमूर्त सम्पदाको अभिलेखिकरण दस्तावेज विमोचन कार्यक्रममा प्रमुख अतिथि एवं काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले जबसम्म मूर्त/अमूर्त जात्रा, संस्कृति हुन्छ तबसम्म काठमाडौं रहन्छ । जति पनि जात्रा, संस्कृति, रितिरिवाज छन् त्यसमा कुनै पनि राजनीतिक रंग मिसिनु हुँदैन, राजनीतिक रोकतोक हुनुहुँदैन भन्ने तर्क राखिन् ।
शुक्रबार काठमाडौंको हनुमान ढोकामा भएको उक्त कार्यक्रममा उपमेयर डंगोलले जति पनि सम्पदा छन् ती सम्पदा, सम्पदा मात्र नभई हाम्रो पहिचान हो । हाम्रा सम्पदाहरू पहिलेदेखी नै मौखिक रुपमा पुस्तान्तरण हुँदै आइरहेको छ । अहिलेको समयमा सम्पदालाई मौखिक सँगसँगै अभिलेख गरेर दस्तावेज बनाउनु अति आवश्यक छ । दस्तावेज सधैंका लागि, सबैका लागि हुन्छ ।
यसका लागि जसरी यस पटक येँया: पुन्ही दस्तावेज गरियो, त्यसगरी सबै मूर्त तथा अमूर्त सम्पदाहरूलाई दस्तावेज गर्नुपर्ने र अन्य सबै वडाले यसको अनुशरण गर्न उपमेयर डंगोलले आग्रह समेत गरिन् । उनले रिसर्चको लागि काठमाडौं महानगरपालिका सदैव साथ रहने बताइन् ।
त्यसैगरी विमोचन कार्यक्रममा मूर्त तथा जीवन्त/अमूर्त सम्पदा अभिलेखिकरण दस्तावेजका अनुसन्धानकर्ता सुरेश प्रसाद श्रेष्ठले अभिलेखिकरणका बारेमा प्रष्ट पार्दै इन्द्रजात्रामा हुने मूर्त-अमूर्त जात्राका महत्त्वबारे बोल्दै समयअनुसार परिवर्तन हुँदै आएको विभिन्न संस्कृति, परम्पराको बारे लिपीबद्द गरिएको बताए । अहिलेको मुख्य चुनौती भनेको पुस्ता हस्तान्तरण, आर्थिक, सम्पदाको संरक्षण र सुरक्षा रहेको बताए ।
यी चुनौतीहरूलाई स्थानीय निकाय, राज्य लगायत सम्बन्धित संघसंस्थाहरूले यस विषयमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कामनपा वडा नं. २३ का वडा अध्यक्ष मचाराजा महर्जनले कार्यक्रमको सभापतित्व गर्दै इन्द्रजात्रा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा परिचित भईसकेको बताए । सम्पदालाई संरक्षण गर्न अहिलेको समयमा झन् गाह्रो भएकै कारण यसलाई जोगाउन र अबको भावी पुस्ताको लागि पनि अभिलेखिकरण गर्नुपर्नेमा जोड दिँदै यसको लागि राज्यले पनि सहकार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा उपमेयर सुनिता डंगोल र सामाजिक व्यक्तित्व गणपतिलाल श्रेष्ठलाई सम्मान गरिएको थियो भने कार्यक्रम सञ्चालन नितु महर्जनले गरेकी थिइन् ।