
काभ्रे । बनेपा नगरपालिकाको ४५औं स्थापना दिवस शनिबार एक कार्यक्रमकाबीच मनाएको छ ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नागरिकले सोचे जस्तो काम हुन नसकेपनि कामै नभएको भन्न नहुने बताए । वागमती प्रदेश सरकारले सामाजिक विकासका लागि बनेपा नगरपालिकासँगका हरेक काममा सहयोग गर्ने मन्त्री बादेले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि एवं जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले देश किन बनेन भनेर चिन्तन गर्दा सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे ।
नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षता गर्दै बनेपामा भएका कामहरुको बारेमा जानकारी दिए । सिमित बजेटका कारण धेरै काम गर्न नसकिएको बताउँदै जेनजी आन्दोलनका नाममा नगरपालिकाको करिव ८ करोड क्षति भएको प्रमुख शाक्यले बताए ।
त्यस्तै नगरपालिकाका उपप्रमुख बिमला सापकोटाले आफूले सकेको काम गर्दागर्दै पनि कामै नगरेको जसरी बाहिर चर्चा हुने गरेकोमा गुनासो गरिन् । सबैको सहयोगले काम गर्न सकिने बताउँदै कसैको काम गरेबापत कहिल्यै पनि केही नलिएको र यस्ता कुरामा विश्वास नगर्न आग्रह समेत गरिन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले उपस्थितहरुलाई स्वागत मन्तव्य राखेको कार्यक्रममा नगरपालिकाका विभिन्न तहमा कार्यरत, सेवा निवृत्त कर्मचारी र उत्कृष्ट विद्यालयहरू तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

उहाँ अनलाइन काभ्रे डटकमका सञ्चालक तथा संवाददाता हुनुहुन्छ ।
