
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पदमुक्त गरेका छन् ।
बिहीबार प्रधानमन्त्री शाहले श्रम मन्त्री साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । श्रम मन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै रास्वपा सभापति रवि लामिछानेले कारबाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए ।
यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरिएको थियो । सोही सिफारिसको आधारमा श्रम मन्त्री साहलाई पदमुक्त गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ । यदि पदको दुरुपयोग भएमा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट हटाउन सिफारिस गरिएको थियो ।
श्रम मन्त्री साह पदमुक्त भएपश्चात् उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शाहले नै सम्हाल्ने भएका छन् ।
