
काभ्रे । काभ्रे जिल्ला रेफ्री कमिसन र भक्तपुर जिल्ला रेफ्री कमिसनको संयुक्त आयोजनामा एकदिने रेफ्री तथा कोच रिफ्रेसर कोर्ष सम्पन्न भएको छ ।
शनिबार नमोबुद्धमा आयोजित कार्यक्रममा काभ्रे र भक्तपुर जिल्लाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री, कोच तथा खेलाडी गरी ६४ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय रेफ्री संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्री प्रकाश मोहन धौभडेलले पानसमा बत्ती बालेर गरेका थिए । उनले कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षणसमेत दिएका थिए ।
कार्यक्रमको संयुक्त अध्यक्षता काभ्रे जिल्ला रेफ्री संयोजक श्यामसुन्दर कुँवर र भक्तपुर जिल्ला रेफ्री संयोजक मृगेन्द्र धौभडेलले गरेका थिए ।
कराते खेलको नियम, रेफ्री तथा कोचको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको रिफ्रेसर कोर्षमा सहभागीहरूलाई आवश्यक प्रशिक्षण तथा ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।
काभ्रे जिल्ला रेफ्री संयोजक श्यामसुन्दर कुँवरले स्वागत मन्तव्य र भक्तपुर जिल्ला रेफ्री संयोजक मृगेन्द्र धौभडेलले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए । राष्ट्रिय रेफ्री गौतम मानन्धरले सञ्चालन गरिएको कार्यक्रममा नेपाल कराते महासंघका केन्द्रीय सदस्य सञ्जय सुन्दर सैजु, काभ्रे जिल्ला सितोरियो कराते संघका अध्यक्ष सुरेश कारञ्जित, भक्तपुर जिल्ला सितोरियो कराते संघका अध्यक्ष राजन चित्रकार, नेपाल कराते महासंघ काभ्रेका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, राखेप कराते प्रशिक्षक काभ्रेका विजय सुन्दर सैजु, बागमती प्रदेश रेफ्री कमिसनका सचिव रामशरण त्वाती, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ काभ्रेका अध्यक्ष नवराज मानन्धर तथा नमोबुद्ध रिसोर्टका व्यवस्थापक जगत तामाङ लगायतको उपस्थिति रहेको थियो।
