ट्रेण्डिङ

असोज महिनाभरि बिग केयर अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

  • अनलाइन काभ्रे
  • / स्वास्थ्य /
  • २०८३ भाद्र १४, आईतबार (१ घण्टा अघि)
  • ४७ पटक पढिएको
असोज महिनाभरि बिग केयर अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
काभ्रे । स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले बिग केयर अस्पतालले आश्विन महिनाभरि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरेको छ ।
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गर्न लागेको उक्त शिविर अस्पतालका अध्यक्ष बिरेन्द्र बहादुर न्यौपानेको श्रीमति तथा पुत्र कल्याण विक्रम न्यौपाने र बुहारी प्रबन्ध निर्देशक डा. स्नेहा बस्नेतकी ममतामाई आमाको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा आयोजना गर्न लागिएको हो ।
शिविरमा सर्वसाधारणले आधारभूत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श निःशुल्क प्राप्त गर्न सक्नेछन् । आवश्यकता अनुसार विभिन्न स्वास्थ्य जाँच, विशेषज्ञ चिकित्सकसँग परामर्श तथा स्वास्थ्यसम्बन्धी सचेतनामूलक सेवाहरू पनि उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
बिग केयर अस्पतालमा उपलब्ध प्रमुख सेवाहरू अन्तर्गत आकस्मिक सेवा, ओपीडी सेवा, विशेषज्ञ चिकित्सकीय परामर्श, प्रयोगशाला परीक्षण, फार्मेसी, स्वास्थ्य परीक्षण, नर्सिङ सेवा तथा विभिन्न रोगको निदान र उपचार सेवा रहेका छन् । अस्पतालले बिरामीलाई सहज, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ सेवा विस्तार गर्दै आएको जनाएको छ ।
अस्पताल व्यवस्थापनका अनुसार आश्विन महिनाभरि सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरले आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ । अस्पतालले यस अवसरमा अधिकभन्दा अधिक नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श लिन आग्रह गरेको छ ।
स्वर्गीय आमाको सम्झनालाई सामाजिक सेवासँग जोड्दै आयोजना गरिएको यस स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्यप्रतिको सचेतना बढाउनुका साथै मानवीय सेवाको भावना अझ मजबुत बनाउने विश्वास अस्पतालले व्यक्त गरेको छ ।