ट्रेण्डिङ

अस्पतालको सेवा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ: मुख्यमन्त्री किरण थापा मगर

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ मंसिर २, बुधबार (४ घण्टा अघि)
  • १६ पटक पढिएको
अस्पतालको सेवा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ: मुख्यमन्त्री किरण थापा मगर

काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालको नवनिर्मित बहिरङ्ग (ओपीडी) भवन तथा हेमोडायलाइसिस सेवाको बुधबार उद्घाटन गर्ने क्रममा अस्पतालको सेवा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


मुख्यमन्त्री थापाले अस्पतालको सेवा विस्तारले काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै क्यान्सरका बिरामीलाई उपचारमा थप सहज बनाउनका निम्ति रेडिएसन मेसिन जडान गर्न प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।


कार्यक्रममा मुख्यमन्त्री थापाले भवन निर्माणमा योगदान पुर्‍याउने दाता राजभाई प्रधानको सामाजिक भावनाको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रको विकासमा सरकार, निजी क्षेत्र र समाजसेवीबीच सहकार्य आवश्यक रहेको बताए ।
उद्घाटन कार्यक्रममा अस्पतालकी मेडिकल निर्देशक डा. एन्जिला बस्नेतले सरकार, समाज र दाताहरूको सहयोगबाट अस्पतालले सेवा विस्तार गर्न सफल भएको बताइन् । ६६ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालमा नयाँ संरचना र डायलाइसिस सेवाको सुरुवातले उपचार सेवा थप व्यवस्थित र प्रभावकारी हुने अस्पतालले विश्वास लिएको बताईन् ।