
काभ्रे । मदानी बिट मिडिया प्रालिद्वारा सञ्चालित मदानी बिट डटकम चौथो वर्षमा प्रवेश गरेको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारको प्रशंसा गर्ने सञ्चारमाध्यम सरकारका मित्र मात्रै होइनन्, सरकारका कमजोरी औँल्याउने, प्रश्न गर्ने र आलोचना गर्ने पत्रकार लोकतन्त्रका महत्वपूर्ण साझेदार रहेको बताए ।
शुक्रबार धुलिखेलको हिमालय दृश्य रिसोर्टमा भएको कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री थापा मगरले सरकारलाई जवाफदेही बनाउन सञ्चारमाध्यमले निर्भीक र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताए ।
बागमती प्रदेश सरकारले पत्रकारहरूको डिजिटल सीप विकास, तथ्य जाँचसम्बन्धी तालिम, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता तथा आधुनिक सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति बनाइरहेको जानकारी दिँदै उनले यस क्षेत्रमा सम्बन्धित संस्था र सरोकारवालासँग सहकार्य गर्ने सोच रहेको बताए ।
अनलाइनका सम्पादक श्याम सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको पत्रकारिता तथा सम्पादकीय यात्रामा पुर्याएको योगदानको कदर गर्दै सहसम्पादकद्वय विकास तिमल्सिना र गोमा थापालाई नगद पाँच हजार पाँच सय ५५ रुपैयाँसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक तथा विकास मन्त्री कञ्चनचन्द्र बादे, बागमती प्रदेशसभा सदस्य रत्न ढकाल, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख गोपालकुमार अधिकारी, जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दीपककुमार गौतम, स्थानीय तहका जनप्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

उहाँ अनलाइन काभ्रे डटकमका सञ्चालक तथा संवाददाता हुनुहुन्छ ।
