ट्रेण्डिङ

नमोबुद्ध नगरपालिकामा दरबन्दी मिलान तथा विद्यालय समायोजन सम्बन्धी अन्तरक्रिया

नमोबुद्ध नगरपालिकामा दरबन्दी मिलान तथा विद्यालय समायोजन सम्बन्धी अन्तरक्रिया

काभ्रे । नमोबुद्ध नगरपालिकाको आयोजनामा शुक्रबार दरबन्दी मिलान तथा विद्यालय समायोजन सम्बन्धी सरोकारवालाहरूसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक तथा सञ्चारकर्मी लगायत सरोकारवालाहरूलाई अन्तर्क्रियामा सहभागी गराएको हो ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामबहादुर तामाङले दरबन्दी मिलान तथा विद्यालय समायोजनका आधारहरूका बारेमा चर्चा गरेसँगै कानुनी आधार र प्रस्तावित कार्यविधिका प्रावधानहरूबारे जानकारी गराएका थिए ।


नमोबुद्ध नगरपालिकाले दरबन्दी मिलान तथा विद्यालय समायोजन सम्बन्धमा सरोकारवालाहरूसँग बृहत छलफल तथा अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राम बहादुर तामाङले दरबन्दी मिलान तथा विद्यालय समायोजनका आधारहरू सहितको प्रस्तुतीकरण गर्दै यसका कानुनी आधार र प्रस्तावित कार्यविधिका प्रावधानहरूबारे जानकारी गराएका थिए ।
दरवन्दी मिलान तथा विद्यालय समायोजन सिफारिस कार्यदलको स्थलगत अध्ययन अनुसार नगरका ३६ सामुदायिक विद्यालयमा कुल ३ हजार ५ सय ७० विद्यार्थी अध्ययनरत छन् । समग्र शिक्षक–विद्यार्थी अनुपात १ शिक्षक बराबर ११.५ विद्यार्थी रहेको देखाइएको छ। शाखा प्रमुख तामाङले विद्यार्थी संख्या न्यून हुनु नै प्रमुख समस्या रहेको बताउँदै विद्यालय समायोजनका लागि न्यूनतम विद्यार्थी संख्या साथै दुई विद्यालयबीचको पैदल दूरी २ किलोमिटर वा ३० मिनेटभन्दा कम भएमा, विद्यार्थी संख्या निरन्तर घट्दो रहेमा वा शैक्षिक उपलब्धि सन्तोषजनक नभएमा समायोजन तथा तह मिलान गर्न सकिने व्यवस्था प्रस्ताव राखिएको बताए ।
शाखामा कार्यरत सहायक विद्यालय निरीक्षक वीरेन्द्र सिंह साउदले विद्यालयगत वस्तुगत विवरण प्रस्तुत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुमा विद्यालयको मात्र दोष नभई विद्यार्थी नभएका विद्यालयमा दरबन्दी थुप्रिने, शिक्षक दरबन्दी अभाव, अङ्ग्रेजी, गणित र विज्ञान विषयको शिक्षक अभावले अध्यापन समस्या, निजी स्रोतका शिक्षकको अवस्था, दिवा खाजा लगायतको समस्या रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति कृष्ण लामा, नेकपा एमालेका नगर उपाध्यक्ष कृष्णबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टीका नगर संयोजक रामकृष्ण उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति विक्रम तिवारी लगायतले एकअर्कालाई आरोप–प्रत्यारोप लगाउने भन्दापनि शिक्षा क्षेत्रमा राजनीतिकरण गर्न नहुने र तथ्याङ्कमा आधारित छलफल गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले कसैको विरोधमा नभई शिक्षा सुधारकै लागि कार्यदल र शाखाको सुझावका आधारमा दरबन्दी मिलान तथा विद्यालय समायोजन गरिने बताए ।