ट्रेण्डिङ

काभ्रेपलाञ्चोकका ३ हजार २ सय ९० जना किशोरीहरूलाई एच.पि.भी खोप सेवा

  • अनलाइन काभ्रे
  • / स्वास्थ्य /
  • २०८२ माघ २२, बिहिबार (५ महिना अघि)
  • २०८ पटक पढिएको
काभ्रेपलाञ्चोकका ३ हजार २ सय ९० जना किशोरीहरूलाई एच.पि.भी खोप सेवा

काभ्रे । जनस्वास्थ्य कार्यालय काभ्रेले जिल्लाका ३ हजार २ सय ९० जना बालिकाहरूलाई पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भी खोप सेवा उपलब्ध गराउने भएको छ ।
कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्षका किशोरीहरुका लागि र अभियानमा गत वर्ष छुटेका उमेर समुह भित्र पर्ने किशोरी तथा छात्राहरुका लागि पनि खोप सेवा उपलब्ध गराउने कार्यालयका प्रमुख रागीश्री कक्षपतिले जानकारी दिएकी छिन् ।
कक्षपतिका अनुसार धुलिखेलमा २५९, बनेपामा ९५५, पनौतीमा ५००, पाँचखालमा २८४, मण्डनदेउपुरमा २३०, नमोबुद्धमा १८७, भुम्लुमा ८३, चौरीदेउरालीमा ९८, तेमालमा ७८, रोशीमा २०३, महाभारतमा १६६, खानीखोलामा १३१ र बेथान्चोक गाउँपालिकामा ११६ जना गरी ३ हजार २ सय ९० जना बालिकाहरुलाई खोप लगाईनेछ । खोप लगाउनेहरु मध्ये गत वर्ष छुटेका ११–१४ वर्ष उमेर समुहका गत वर्ष छुटेका १८ जना, कक्षा ७–१० अध्ययन गर्ने ९७ जना, १० वर्षका ८ जना र यो शैक्षिक सत्रमा कक्षा ६ मा अध्ययन गर्ने ३१६७ जना रहेका छन् ।
माघ २३ गतेबाट शुरु भएको यो अभियान २८ गते चौरीदेउराली गाउँपालिकाले अभियान सम्पन्न गर्नेछ । त्यस्तै पनौतीमा २५-२९, पाँचखालमा २६–२९, धुलिखेलमा २७–२९, बनेपामा २७–फागुन २, मण्डनमा २८–२९, नमोबुद्ध २८–३०, भुम्लुमा २६–२८, तेमाल २८– फागुन १, रोशी २६–फागुन १, महाभारतमा फागुन ४–५, खानीखोलामा फागुन ५–७ र बेथानचोकमा माघ २८ देखि फागुन १ गतेसम्म खोप अभियान संचालन हुनेछ ।
कक्षपतिले खोप अभियानका बारेमा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाई अभिमुखिकरण तथा अभियानको तालिकाका बारेमा आवश्यक समन्वय गरिएको बताईन् । अभियानले तोकेका उमेर समुहका किशोरी छात्राहरु सबैलाई खोप लगाउने गरी अभियान संचालन हुने उनले बताईन् ।
नेपालमा पाठेघरको मुखको क्यान्सर रोगको संक्रमण हरेक वर्ष २ हजार १ सय ६९ जनामा हुने गरेको छ भने सोहि कारण १ हजार ३ सय १३ महिलाले ज्यान गुमाउनु परेको छ । दैनिक ४ जना महिला यहि रोगका कारण ज्यान गुमाउने अवस्थामा पुगेका छन् । यसको रोकथाम तथा न्यूनीकरणका लागि यौन सम्पर्क राख्नु अघिका किशोरीहरुलाई उक्त खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर हुने जोखिम न्यूनीकरण हुनेछ ।