
काभ्रे । भोटेकोसी बाढीको रिपोर्टिङका क्रममा नुवाकोट बट्टारस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा भावुक दृश्य देखियो । तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामा बाढीमा आफ्नो पालिकाबाट बेपत्ता भएका नागरिकहरूको खोजी तथा उद्धारका लागि त्यहाँ पुगेका थिए ।
अध्यक्ष लामाले सुरक्षाकर्मीलाई बेपत्ता व्यक्तिहरूको नाम टिपाउँदै खोजी तथा उद्धारका लागि समन्वय गरिरहेको देखिन्थ्यो । संकटको घडीमा आफ्ना नागरिकको खोजीका लागि आफैं मैदानमा खटिनु र पीडित परिवारको आवाज बन्नु जनप्रतिनिधिको जिम्मेवारी र मानवीयताको उदाहरण बनेको छ ।
भोटेकोसी बाढीमा तेमाल गाउँपालिकाबाट बेपत्ता हुनेमा विशाल तामाङ (तेमाल–७), गणेश लामा (तेमाल–८), सुमन तामाङ (तेमाल–६), सुजित मोक्तान, दुप्साङ तामाङ र मिलन तामाङ रहेका छन् ।
बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ । संकटमा आफ्ना नागरिकको साथमा उभिएका अध्यक्ष लामाको यो सक्रियताले पीडित परिवारमा आशा जगाएको छ ।
