
लेखकः शिवराज श्रेष्ठ
आज मिति २०७२ भाद्र १० गते मंगलवार तदनुसार नेपाल संवत् ११४५ ञलाथ्व, भाद्र शुक्ल चौथी तिथिका दिन नेवाः समुदायमा श्री गणेश भगवान जन्मेको दिन मानी गणेश चौथी पर्व मनाइने गरिन्छ । यस पर्वलाई नेपाल भाषामा चथाः चखः भनिन्छ । आजको दिन पुजिने देवतालाई चथाःद्यः भनिन्छ ।
आज सांझ आकाशमा चन्द्रमा देखिएपछि कमल वा गाभाको पातमा नौ प्रकारको भुटेको गेडागुडी “छुस्यामुस्या“ (बसपती पु अर्थात् आरूको बियाँ, मकै, भटमास, गहुँ, चना, केराउ, बकुला, बदाम लगायतका भुटेको गेडागुडी) अनार, विमिरा, बोट सहितको अदुवा, नासपाती, काँक्रो, मुला,फलफूल, मिठाई रोटी चढाई गणेश भगवानलाई चथाद्यःको रुपमा पुजाआजा गरी चथाः पर्व मनाइन्छ । आज बेलुका राती पुजा गर्दै गरेको बेलामा कुकुर भुकेमा अति शुभ संकेतको रूपमा लिईन्छ भने चथाः पर्व राम्ररी मनाए दशैं पर्व पनि राम्ररी मनाईन्छ भन्ने मान्यता रहिआएको छ। साथै चथाःको दिन पानी परेमा दशैमा पनि पानी पर्छ भन्ने आख्यान समेत रहेको छ। नचाहिने दोष र आरोप लाग्ला भनेर आजको रातमा सकेसम्म चन्द्रमा हेर्नु हुंदैन भन्ने किंवदन्ती रहेको छ ।
चथाः का दिन बिहानैदेखि गणेश मन्दिरमा गई पूजाअर्चना गर्ने गर्दछन् । भगवान गणेशको पुजा बिहान गरेतापनि चथाः गणेशको पुजा भने चन्द्रमा देखेपछि रातिको समयमा गर्ने गर्दछन् ।
चथाः पुजा किन राती गरिन्छ भन्ने सम्बन्धी एक किंवदन्ती रहेको छ । भगवान गणेशको शारिरिक रुप माथी चन्द्रमा भगवानले खिल्ली उडाएकोले गणेश क्रुद्ध भै चन्द्रमालाई अब उपरान्त कसैले चन्द्रमाको दर्शन गरे चन्द्र दोषलाग्ने छ भनी श्राप दिनुभयो । अतः राती चन्द्रमा हेरेमा मिथ्या चोरीको दोष लाग्छ भन्ने किंवदंती रहेको छ । उक्त श्रापको कारण सबैले चन्द्रमाको दर्शन गर्न छोडेकोले आफ्नो गल्ती महशुस गरी चन्द्रमाले भगवान गणेशसंग क्षमा माग्यो । गणेश प्रशन्न भै सबै श्राप त फिर्ता लिन सक्दिन तर ञलथ्व चतुर्थी (चथाः) को दिन बाहेक अरु दिनको दोष भने क्षमा गरिदिन्छु भन्नुभयो ।
द्वापरयुगमा भगवान कृष्णले चथाःका दिन चन्द्रमा हेरेको हुनाले मिथ्या चोर दोष लागेछ र उहाँ माथी स्यमन्तक मणिको चोरी तथा प्रसेनको हत्याको मिथ्या दोष लागेपछी श्री गणेशको पुजा गरी क्षमा माग्नाले उक्त दोषबाट मुक्त हुनु भयो र त्यसै दिन देखि चथाःको दिन श्री गणेशको पुजा गरी चन्द्र दोषबाट मुक्त होस भनी क्षमा माग्न गणेशको पुजा गर्ने प्रचलन चल्दै आएको हो ।
चथाःको दिन चन्द्रमा हेर्नु हुन्न भनी आजसम्म पनि राजा भुवन मल्लको राज्यकालमा स्थापित भक्तपुरको थिमी शहरमा मिथिला राज्यबाट बसाई सरेर बसेका नेवाः समुदाय र अहिले थिमीबाट अन्य स्थानमा स्थानान्तरित नेवाः हरुले राती चन्द्रमा नहेर्ने तथा लुक्ने प्रचलन रहिआएको छ ।
यस दिन भक्तपुरको नवदुर्गा गणमा भगवान गणेशको सृष्टि हुने गर्दछ । गणेश चौथीको दिन राक्षसको प्रतिक मूपात्र जात्राको समेत सम्बन्ध रहेको छ । स्वर्गका राजा यमद्यः देबराज इन्द्रकी आमा बसुन्धरालाई गणेश चौथीको दिन ब्रत बस्न पारिजात फूलको आवश्यकता भएकोले इन्द्रको छोरा जयन्तलाई फूल खोज्न पठाउंदा दैत्यहरुको बगैंचामा पारिजात फूल टिप्दै गरेको बेला राक्षसहरुले जयन्तलाई पक्राउ गरे । जयन्तलाई छुट्याउन देवता र राक्षसहरुको संग्राममा देवता पक्षको विजय भएपछि राक्षसहरुलाई संजाय स्वरुप शहर परिक्रमा गराएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भए अनुसार हालसम्म भक्तपुरमा मूपात्र जात्रा चली आएको छ ।
छिमेकी राष्ट्र भारतमा पनि गणेशोत्सवको रुपमा गणेश चतुर्थी पर्व १० दिनसम्म धुमधामले मनाएर अनन्त चतुर्दशीका दिन विसर्जन गरिन्छ । भारतको महाराष्ट्र, आन्ध्रप्रदेश, तेलांगना, कर्नाटक लगायतका राज्यहरुमा गणेशा पर्व अर्थात् विनायक चतुर्थीको रुपमा राष्ट्रीय ÷ राजकीय पर्वको रुपमा मनाइन्छ ।
चथाः चखः र हरितालिका तीज पर्वको उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना ।।
श्री गणपति बप्पा मोरया !
