
काठमाडौं । इन्द्रजात्राको अवसरमा भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वज उठाएपछि सोही दिन अपराह्नबाट पदयात्रा निकालिन्छ । यस यात्रामा सो वर्ष दिवंगत भएकाहरूको परिवारजन धूप बाल्दै यात्रा गर्ने गर्दछन् । उपाकुलाई ‘उपाउ’ (?) अथवा ‘उपाखा’ (बाहिरी क्षेत्र, उले = घुम्ने) भनी सम्बोधन गरिएको पनि पाइन्छ (शाक्य र मानन्धर, २०७७, पृ.८८–८९), तर यसको खास अर्थ के हो भन्ने अनुसन्धानीय नै छ ।
उपाकु यात्राका अवसरमा प्रायः वर्षभर दिवंगत भएका परिवारजनका नाममा धूप बाल्दै यात्रा गर्ने गरिन्छ । सोही अवसरमा टोल–टोलका समूह, संघसंस्थाहरू मिली समय्द्वँ राख्ने, समय्बजि बाँड्ने, यात्रामा हिँड्नेहरूका लागि पानी र विश्रामको व्यवस्था गर्ने, प्राथमिक उपचारको व्यवस्था गर्ने, अन्य झाँकीहरू देखाउनेलगायत कार्य पनि गर्दछन् ।
उपाकु यात्राका क्रममा के–के गर्नुपर्छ भन्नेबारे योगेश राज (२०७०, पृ.१९१) ले यसरी उल्लेख गरेका छन् —
इन्द्रजात्रा अघिको द्वादशीको दिनमा काँचो पालामा (कचि पाल्चा) च्यूरी घिउ र बत्ती राखी बालेर देवस्थापिच्छे र बाटो–बाटोमा देश घुम्नुपर्छ (उपाउ वनेगु) ।
उपाकुबारे त्यस्तो ऐतिहासिक दस्तावेजहरू उपलब्ध छैन । यसलाई दिवंगतको नाममा शहरभरका सबै देवस्थलहरूको एकमुष्ट परिक्रमा गर्ने उद्देश्यले चलाइएको बताइन्छ ।
काठमाडौं महानगरपालिका वडा नं. २३ तथा नेवाः नुगः को सहकार्यमा प्रकाशित येँयाः (इन्द्रजात्रा)– मूर्त तथा जीवन्त/अमूर्त सम्पदाको अभिलेखीकरणबाट ।
