ट्रेण्डिङ

संविधानको ट्रयाकभन्दा दायाँबायाँ सरकार नजान सभापति गगन थापाको चेतावनी

कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेला
संविधानको ट्रयाकभन्दा दायाँबायाँ सरकार नजान सभापति गगन थापाको चेतावनी

काभ्रे । नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलाको उद्घाटन सोमबार नेपाली कांग्रेसका सभापति गगन थापाले गरेका छन् ।
धुलिखेलमा शुरु भएको कार्यक्रम मंगलबारसम्म चल्नेछ । भेलाको उद्घाटन गर्दै सभापति थापाले नेपाली कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएको दाबी गरे । इतिहासमा भएका थुप्रै चुनावमा कांग्रेसले पटक पटक हारेको र जितेको स्मरण गराउँदै यो पटकको निर्वाचनमा पनि कांग्रेस दोस्रो भयो भनेर निराश नहुन आग्रह गरे । देश रहे कांग्रेस रहने र कांग्रेस रहे मात्र नेता, कार्यकर्ता रहने सभापति थापाले उल्लेख गरे ।
सभापति थापाले भर्खरै सम्पन्न निर्वाचन कांग्रेसको पक्षमा नभएको भन्ने पहिल्यै थाहा भएपनि कांग्रेस निर्वाचनमा होमिएको बताउँदै आगामी निर्वाचनमा एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।


सम्बोधनकै क्रममा यदि निर्वाचन नभएको भए देशले निकै ठूलो क्षति बेहोर्नुपर्ने अवस्था कांग्रेसले टारिदिएको दाबी समेत सभापति थापाले गरे । संविधानको ट्रयाकभन्दा दायाँबायाँ सरकार नजान चेतावनी दिँदै प्रतिपक्षमा बसेर कांग्रेसले सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको खबरदारी गर्ने बताए ।
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसमा एकता कायम गर्नका लागि जरा अभियान शुरु गरिएको बताउँदै समाजमा विश्वास गुम्दै गइरहेको अवस्थामा कांग्रेसले सबैको विश्वास जितेर अघि बढ्नु पर्नेमा जोड दिए । सरकारले नागरिकको भावना बुझेर अघि बढ्नुपर्ने र सरकारले नै नागरिकको मन भत्काउने वातावरण नबनाउन आग्रह गरे ।


त्यसैगरी महामन्त्री प्रदीप पौडेलले निर्वाचन कहिले जितिन्छ, कहिले हारिन्छ, हार्दैमा निराश नभई अर्को पटक पहिलो हुने गरी अहिलेबाटै काम गर्नुपर्ने बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले शुरुमा आफूले पनि विशेष महाधिवेशनको विपक्षमा हस्ताक्षर गरेको बताउँदै निर्वाचन आयोग र सर्वोच्चले समेत गगन थापा नेतृत्वलाई नै मान्यता दिएपछि अब अर्को विकल्प नभएकाले यसैलाई विश्वास गरेको र अरु नेताहरुले पनि अब यस विषयमा अल्झिने समय नभएको बताए ।


कार्यक्रममा कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले स्वागत मन्तव्य राख्दै पार्टीमा भएका आन्तरिक विवादहरु सकिएको बताए ।केन्द्रीय सदस्य मधु आचार्यले कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।
मंगलबार (५ गते) सम्म चल्ने भेलामा नेपाली कांग्रेसका केन्द्र, प्रदेश र जिल्लास्तरिय नेताहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा मेयर, उपमेयरलगायतलाई आगामी आर्थिक वर्षको बजेट तर्जुमाबारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।