
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा युवा जनशक्तिले विकासको गतिलाई तीव्र रुपमा अघि बढाएको छ ।
बल्देव उकालोको ढलान कार्यमा युवाहरूको जोश, जाँगर, समर्पण र सामूहिक प्रयासले उत्कृष्ट परिणाम प्रस्तुत गरेको छ । अबिरल वर्षाले क्षति पुर्याएको सडक मर्मत हालैको अविरल वर्षाले खानीखोलाको धेरैजसो ग्रामीण सडकहरू क्षतविक्षत भएका थिए। त्यसको कारण गाउँबासीलाई अत्यधिक समस्या भोग्नु परेको थियो। यातायात, स्वास्थ्य सेवा, खेतीपाती लगायत दैनिक जीवन प्रभावित भएको अवस्थामा स्थानीय युवाहरूको हातेमालोमा निर्माण कार्य अघि बढेको हो ।
सामुहिक युवाहरुको नेतृत्व र युवा एकताको प्रतिफल युवाहरुको नेतृत्वमा एकजुट भएका स्थानीय युवाहरू – जसमा दर्जनौं बाइक चालक, विद्यार्थी, रोजगारीरत युवाहरू लगायत समाजसेवीहरू थिए । सबैले हातेमालो गर्दै बल्देव उकालोको ढलान कार्य सम्पन्न गरेका छन्। जुन ठाउँबाट काभ्रे जिल्लाको खानीखोला गाउँपालिका र मकवानपुर जिल्लाको बागमती गाउँपालिका जोडने बाइकको एक बैकल्पिक सडक रहेको हो ।
युवाहरूले न त कुनै सरकारी बजेट पर्खिए, न कुनै संस्थागत सहयोगमा मात्र भर परे। बरु आफ्नै श्रम, सहयोग र सशक्त नेतृत्वमार्फत गाउँको लागि केही गर्ने जाँगरले प्रेरित भई यो कार्य सम्पन्न गरिएको हो।
सहयोगी मनहरूप्रति आभार र पारदर्शिता प्रतिबद्धता
यो कार्यको लागि धेरैले आ-आफ्नो अनुसार सहयोग गरेका छन्। बाइक चालकहरूका बीचमा भएको आपसी सहमतिअनुसार कम्तीमा रकम १ हजार संकलन गरिने निर्णय भएको छ।
हालसम्म धेरैले सोभन्दा बढी रकम सहयोग गरिसकेका छन्, बाँकीलाई पनि हार्दिक अपिल गरिएको छ। आयोजक टोलीले सबै खर्चको विवरण पारदर्शी ढंगले सार्वजनिक गर्ने स्पष्ट प्रतिबद्धता जनाएको छ।
“पैसा धेरै उठे के गर्ने?” भन्ने प्रश्नमा संकलन गरिएको रकम ढलान खर्चभन्दा बढी भयो भने, बाँकी रकमको उपयोगबारे सामूहिक छलफलबाट निर्णय गरिने बताए ।
खानीखोलाका युवाहरूले देखाएको उदाहरण अरू गाउँपालिकाहरूका लागि पनि प्रेरणादायक छ। विकास भनेको सरकारी पहल मात्र होइन, स्थानीयस्तरमै युवाहरूको सक्रियता, श्रम र आत्मबलले पनि सम्भव छ भन्ने कुरा बल्देव उकालो ढलान कार्यले प्रमाणित गरिदिएको छ।
यो कार्यले समाजसेवा, आपसी सहयोग, पारदर्शिता र स्थानीय नेतृत्वको महत्व झल्काएको छ। खानीखोला गाउँपालिकाको आगामी विकास योजनामा पनि यस्ता युवाशक्तिको भूमिकालाई अझ व्यापक र प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।
सामाजिक उत्तरदायित्व र आपसी सद्भावका माध्यमबाट सम्पन्न भएको बल्देव उकालो ढलान परियोजना समुदायको सामूहिक प्रयासको प्रतिफल हो। यस्ता कार्यले स्थानीय विकासमा सकारात्मक प्रभाव पार्ने मात्र नभई सहकार्यको भावना पनि बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
