
काभ्रे । “हाम्रो सहकार्य परियोजना” अन्तर्गत दलित महिला केन्द्र नेपाल र नेपाल दलित सेवा समाजको सहयोगमा आज (जेठ १९ गते) देखि महिला, समुदाय र सामाजिक परिवर्तनका सशक्त कथाहरूलाई कला र कथावाचनमार्फत प्रस्तुत गर्ने घुम्ती कला प्रदर्शनी ‘ऊर्लंदो नदीसरिः महिला र परिवर्तनका कथाहरू’ (Like a Rising River: Stories of Women and Change) प्रर्दशनी शुरु भएको छ ।

Photo: Amit Machamasi
बनेपामा सञ्चालन भएको उक्त प्रर्दशनीको मूल उद्देश्य महिलाहरुको जीविकोपार्जन तथा आयस्तर वृद्धि गराउने सम्बन्धी रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा १५ जना कलाकारद्वारा नेपालका विभिन्न समुदायका महिलाहरूको जीवन, श्रम, ज्ञान, नेतृत्व, संघर्ष र सहनशीलताका कथाहरूलाई कलात्मक ढंगबाट प्रस्तुत गरिनेछ ।
हाम्रो सहकार्य परियोजना बागमती प्रदेशका विष्णुमाया बिजुक्छे श्रेष्ठले कोभिडपछि सशक्तिकरणको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताइन् । ५ वर्षको यस परियोजनाले पहिलो वर्ष लैंगिक विभेद, समाजमा रहेका नकारात्मक मूल्य–मान्यता कसरी हटाउने भन्ने विषयहरुमा कार्य गरेको थियो । दोस्रो वर्ष सञ्चार किन आवश्यक छ ? परिवार, समुदायमा सञ्चारको महत्व कति छ ? भन्ने विषयमा कार्यक्रम सञ्चालन गरिएको थियो भने तेस्रो वर्षमा गत वर्षमा गरेका कामहरुको मूल्यांकन स्वरुप सामुदायिक कार्यहरुमा काम गरिएको श्रेष्ठले बताइन् ।

Photo: Amit Machamasi
श्रेष्ठ थप्छिन्, “जति महिलाहरुले सिकेका कुराहरु छन् त्यसलाई आफ्नो ठाउँमा गएर त्यस क्षेत्रमा कुन सिकाइको बढि आवश्यक छ भनेर प्राथमिकीकरण गर्नुहुन्छ । त्यसपछि सोहि अनुरुप ति विषयहरुमा रहेर हामीले कार्यक्रम, तालिमहरु सञ्चालन गर्छाैं ।” यो परियोजनाले विषेशगरी बालविवाह, लैंगिक विभेद, समाजका नकारात्मक मूल्य–मान्यता लगायतका यावत् विषयहरुलाई जोड दिने गरेको छ ।

Photo: Amit Machamasi
त्यस्तै सहयोगी संस्थाको रुपमा जोडिएको सिर्जनालयले कलाशिक्षाको काम गरेको छ । सिर्जनालयका निर्देशक स्यारोरे बज्राचार्यका अनुसार सुदूरपश्चिम, कर्णाली, मधेश र बागमती प्रदेशका दलित, आदिवासी महिलाहरुको जीवनकथाहरु, उनीहरुको दिनचर्या, भोगाइ, संघर्षलाई सुनेर दृश्यान्त गर्ने काम गर्दछ । महिलाहरूका भोगाइ, सपना, साझा संघर्ष तथा दैनिक साहसका कार्यहरूलाई उजागर गर्दै प्रदर्शनीले संवाद, चिन्तन र आशाको वातावरण निर्माण गर्ने लक्ष्य लिएको बज्राचार्यले बताइन् ।

Photo: Amit Machamasi
सबैका लागि निःशुल्क र खुला रुपमा राखिएको प्रदर्शनीमा कलाकृतिसँगै कथावाचन, स्थानीय उत्पादनहरूको प्रवद्र्धन तथा बिक्री, ‘हाट बजार’ र ‘सुनौलो बिहानी’ नामक सडक नाटक पनि प्रस्तुत गरिनेछ ।
जेठ १९ देखि २१ गतेसम्म सञ्चालन हुने घुम्ती कला प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ भने परिवर्तनका कथाहरूको अनुभव लिन सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेका छन् ।

उहाँ अनलाइन काभ्रे डटकमका सञ्चालक तथा संवाददाता हुनुहुन्छ ।
