
|तस्वीरः रामशरण तिमल्सिना
रसुवा । पर्यटकीय तथा धार्मिक महत्व रहेको रसुवास्थित गोसाईंकुण्डलाई साधनाको तपोभूमि मानिन्छ । यसलाई शिवकुण्ड पनि भन्ने गरेको पाइन्छ । समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित यस कुण्डमा प्रत्येक वर्ष श्रावण महिनाको जनैपूर्णिमाको दिन मेला लाग्ने गर्दछ । उक्त दिन लाखौं तीर्थालुहरुको भीड लाग्ने गर्दछ ।
गोसाईंकुण्ड क्षेत्रमा १ सय ८ वटा कुण्ड रहेका छन् । यीमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड प्रमुख मानिन्छन् । किवंदन्तीका अनुसार समुद्र मन्थनबाट उत्पन्न कालकुट विषको डाह शान्त पार्न हिमालय खण्डमा आई भगवान् शिवले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा गङ्गाजल उत्पत्ति भएको र यसपछि कुण्डमा शयन गरी चिसो पानीले भगवान् शिवले विषको डाह शान्त पार्नुभएको भनिएको छ ।
भनिन्छ, गोसाइँकुण्डमा शिवको आकृति जस्तो गेरु रङको चट्टान देखिन्छ । गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् । त्रिशूली नदीको उद्गम स्थल त्रिशूल धारा, १ सय ८ वटा कुण्ड, तामाङ संस्कार र संस्कृति, अमरसिंह गुफा, विभिन्न गुम्बा, विभिन्न वन्यजन्तु, चराचुरुङ्गी तथा जडीबुटी आदि यस क्षेत्रका प्रमुख आकर्षण रहेका छन् ।

तस्वीरः रामशरण तिमल्सिना
काठमाडौँबाट मोटरमा धुन्चे हुँदै धुन्चेबाट पैदल यात्रा गरेर गोसाइँकुण्ड पुग्न सकिन्छ । यस्तै सिन्धुपाल्चोकको मेलम्चीबाट कुटुमसाङ ठाडेपाटीको पैदल यात्रा पनि मनोरम हुन्छ । सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको पदयात्रा धार्मिक हिसाबले राम्रो मानिन्छ । मेलाका लागि पैदल यात्रा गर्न नसक्ने तिर्थालुहरुका लागि घट्टे खोला देखि गोसाईंकुण्ड सम्म घोडाको व्यवस्था गरिएको गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका अनुसार घोडा चढेर गोसाईंकुण्ड स्नान गर्न जाने तीर्थयात्रीहरूका लागि स्थान अनुसार दररेट समेत निर्धारण गरिदिएको छ । मेलाको अवसरमा यात्रीहरू नठगियोस् भन्ने उद्देश्यले मेला अवधिभर मूल्यमा एकरूपता ल्याउनका लागि दररेट निर्धारण गरिएको समितिले जनाएको छ । घट्टे खोला देखि चन्दनबारी सम्म चार हजार, घट्टे खोला देखि बुद्धमन्दिर सम्म बापत सात हजार पाँच सय र घट्टे खोलादेखि गोसाइँकुण्डसम्म घोडा चढे बापत आठ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
त्यसैगरी देउरालीदेखि बुद्ध मन्दिरसम्म छ हजार पाँच सय, देउरालीदेखि गोसाइँकुण्डसम्मसात हजार पाँच सय, चन्दन बारीदेखि बुद्ध मन्दिरसम्म पाँच हजार पाँच सय, चन्दन बारीदेखि गोसाइँकुण्डसम्म छ हजार, चोलाङपाटीदेखि बुद्ध मन्दिरसम्म चार हजार पाँच सय, चोलाङपाटी देखि गोसाईंकुण्ड सम्म ५ हजार पाँच सय रुपैयाँ कायम गरिएको गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
जनैपूर्णिमाकै लागि पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड पुग्ने भक्तजनको प्राथमिक उपचारका लागि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सङ्घका अनुसार आफ्नो संस्थाको तर्फबाट अक्सिजनसहित विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्डको किनारमा खटेर शिविर सञ्चालन गरिरहेको जानकारी दिइएको छ ।
