
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय क्षेत्र बेथानचोक गाउँपालिका वडा नं. ४ मा शुक्रबार गाउँपालिका अध्यक्ष भगवान अधिकारीले एक कार्यक्रम बिच सिद्धेश्वर महादेव मन्दिरको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले स्थानीय कला, धर्म, संस्कृति र सम्पदाको संरक्षण, संवद्र्धन र निर्माणमा गाउँपालिकाले योगदान दिँदै आएको बताए । बनेका सम्पदा संरक्षणमा स्थानीयको पनि उत्तिकै भूमिका भएकोले गाउँपालिका भित्रका सम्पदा संरक्षणमा सबैले हातेमालो गर्नुपर्नेमा अध्यक्ष अधिकारीले जोड दिए ।

गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर तामाङले वहुवर्षीय कार्यक्रम अन्तर्गत १२ लाख लागतमा बनेको सो मन्दिर वडाको सोली थुम्कामा बनेको उक्त मन्दिरमा १ लाख १६ हजारको चतुर्मुख शिवलिङ्ग स्थिानीय बुद्धिमाया तामाङले प्रदान गरेको बताए । सम्बोधनकै क्रममा वडा नं. ४ का वडा अध्यक्ष तामाङले बहुजाति बहुभाषीको बसोबास रहेको र उल्लेख्य मात्रामा मठमन्दिर, गुम्बाहरु भएको कारण वडा नं. ४ लाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्ने बताए । कार्यक्रममा वडा नं. ३ का अध्यक्ष कुबेर ढकालले गत असोज महिनामा गएको बाढीले क्षतविक्षत बनाएको बेथानचोकले पुनः विकास निर्माणको गति लिँदै जाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा सदस्यहरु दिलकुमारी तामाङ, कर्ण तामाङ, चन्द्रबहादुर नगरकोटी, पूर्व वडा अध्यक्ष लालबहादुर श्रेष्ठ, न्यायिक शाखा प्रमुख श्रीकृष्ण तिमल्सिना, प्राविधिक दिपक प्रसाद हुमागाई, दलीय प्रतिनिधिहरु प्रेमप्रसाद श्रेष्ठ, भुवन कार्की लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
