ट्रेण्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै, जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम
  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ फागुन १५, शुक्रबार (४ महिना अघि)
  • २७१ पटक पढिएको
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै, जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगिरहँदा काभ्रेपलाञ्चोकमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ ।
काभ्रेपलाञ्चोकको क्षेत्र नं. १ र २ मा छनोट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बिहीबार र शुक्रबार दुई दिन धुलिखेल नगरपालिकाको सभाहलमा तालिम दिइएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।
मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि हिजो (फागुन १४) क्षेत्र नं. २ र आज (फागुन १५) क्षेत्र नं. १ लाई तालिम प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए । अधिकारी शिवाकोटीका अनुसार जिल्लाको १३ वटै स्थानीय तहमा खटिने जगेडा सहित ८ सय ३० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिइनेछ । पहिलो दिन स्थानीय तहमा खटिने ४ सय १५ जना र (आज) दोस्रो दिन ४ सय १५ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । तालिममा प्रशिक्षण मुख्य निर्वाचन अधिकृत, सुरक्षा समितिका पदाधिकारी र स्रोत व्यक्तिले प्रदान गरेको छ ।


जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार जिल्लाका दुई निर्वाचन क्षेत्रमा १ सय ८९ मतदान स्थल र ४ सय मतदान केन्द्र रहेका छन् । मतदानका बेला २४ सय कर्मचारी र १२ सय जना स्वयंसेवक खटिने भएका छन् । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक निर्वाचन अधिकृत, ३ जना सहायक निर्वाचन अधिकारी र १ जना सहयोगी रहनेछन् भने ३ जना स्वयंसेवक स्थानीय स्तरमा मतदान अधिकृतले नियुक्ति गर्नेछन् । नियुक्ती भएर निर्वाचन तालिम पश्चात फागुन १८ गतेभित्र निर्वाचन सामाग्रीसहित कर्मचारीलाई मतदानस्थलमा पठाइने छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन आउन अब ५ दिनमात्रै बाँकी छ । काभ्रेमा व्यवस्थापकीय तयारी पनि लगभग अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले जिल्लाको दुई निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र सोमबार जिल्ला पठाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले निर्वाचन आयोगले जिल्लाका दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ ३ लाख ५१ हजार र समानुपातिकतर्फको ३ लाख ५६ हजार मतपत्र जिल्लामा पठाइएको जानकारी दिए । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर–१ का लागि प्रत्यक्षतर्फ एक लाख ७३ हजार र समानुपातिकतर्फको लागि समेत एक लाख ७३ हजार मतपत्र र क्षेत्र नम्बर–२ का लागि प्रत्यक्षतर्फ एक लाख ७८ हजार र समानुपातिकतर्फ एक लाख ८३ हजार मतपत्र जिल्लामा पठाइएको जानकारी दिँदै जिल्लाको दुवै क्षेत्रका लागि आएको मतपत्रको रुजु गर्ने र मतदान केन्द्रमा पठाउनका लागि मङ्गलबारबाट मतपत्र पोको पार्ने काम सुरु गरिने बताए ।
जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर–१ मा १ लाख ६१ हजार एक सय र क्षेत्र नम्बर–२ मा १ लाख ६५ हजार ५ सय ११ गरी कुल ३ लाख २६ हजार ६११ मतदाता रहेका छन् ।