
काभ्रे । धुलिखेल–खावा सडक पुनर्निर्माण कार्यलाई तीव्र रुपमा अघि बढेको छ । चैत ७ गतेदेखि २० गतेसम्म १४ दिनसम्म यात्रुवाहक बस एकतर्फी सञ्चालन हुने, टिपर पूर्ण रूपमा बन्द रहने र रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।
सवारी सञ्चालनमा आंशिक तथा पूर्ण प्रतिबन्ध लगाइएको अवधिमा सडक निर्माण कार्यका कारण यातायात सेवा प्रभावित बनेसँगै सर्वसाधारण यात्रुहरूले दैनिक आवतजावतमा सास्ती भोग्नुपरेको छ । विशेषगरी यात्रुवाहक बसहरूले नियमित रुटलाई प्राथमिकता नदिई आवश्यकताका आधारमा मात्र सेवा सञ्चालन गरिरहेका कारण यात्रुहरू झनै मारमा परेको, पाँचखालबाट काठमाडौं फर्कने सवारी साधनको अभाव हुँदा यात्रुहरू अलपत्र पर्ने अवस्था सिर्जना भएको यात्रुहरुको गुनासो छ । पाँचखालबाट बनेपासम्मको छोटो दूरीमा इभि भ्यानहरूले अत्यधिक भाडा असुल्दै यात्रु ठगिएको गुनासो बढ्दै गएको छ । सामान्य अवस्थामा ८० रुपैयाँमा यात्रा गर्न सकिने उक्त दूरीमा हाल १५० देखि २ सय रुपैयाँसम्म भाडा लिने गरिएको यात्रुहरूले बताएका छन् । हाल पाँचखाल–बनेपा रुटमा करिब २२ वटा इभि सवारी सञ्चालनमा छन । ती सवारीहरूले एकपटकमा २० देखि २२ जनासम्म यात्रु बोक्ने गरेका छन ।
