ट्रेण्डिङ

प्रेस स्वतन्त्रता संरक्षणको माग गर्दै काभ्रेका पत्रकारको धर्ना

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ जेष्ठ २८, बिहिबार (१४ घण्टा अघि)
  • ८ पटक पढिएको
प्रेस स्वतन्त्रता संरक्षणको माग गर्दै काभ्रेका पत्रकारको धर्ना

काभ्रे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको संरक्षण गर्न र सूचना तथा विज्ञापनसम्बन्धी विभेदपूर्ण तथा स्वेच्छाचारी निर्णयहरू फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक अगाडि धर्ना कार्यक्रम गरेको छ ।
धर्नामा महासंघका जिल्ला अध्यक्ष विनोदकुमार न्यौपाने, उपाध्यक्ष कपिल कोइराला, सचिव नगेन्द्र अधिकारीसहित कार्यसमितिका पदाधिकारी, सदस्य, पूर्व अध्यक्षहरू तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले प्रेस स्वतन्त्रतामाथि प्रतिकूल असर पार्ने सरकारी निर्णयहरू तत्काल सच्याउन सरकारसँग माग गरे । सञ्चार क्षेत्रलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने उल्लेख गर्दै उनले पत्रकार महासंघ प्रेस स्वतन्त्रताको रक्षाका लागि निरन्तर संघर्षरत रहने बताए ।
उनले सरकारबाट पत्रकारिता क्षेत्रका मागहरू बेवास्ता गरिए थप प्रभावकारी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत दिए ।
धर्नाका सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको पक्षमा विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए । नयाँ सरकार गठनपछि सञ्चारमाध्यमको हितविपरीत निर्णयहरू भएको आरोप लगाउँदै नेपाल पत्रकार महासंघले देशव्यापी चरणबद्ध आन्दोलन सञ्चालन गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस