
काभ्रे । जिल्ला सहकारी संघ लिमिटेड, काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनलाई केन्द्रमा राख्दै कार्यसम्पादन लक्ष्यसहितको कार्यविवरण हस्तान्तरण गरेको छ।
संघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको उपस्थितिमा संघका कामु प्रमुख कार्यकारी अधिकृतलाई आगामी आर्थिक वर्षका लागि तय गरिएका लक्ष्य, जिम्मेवारी र कार्यसम्पादन सूचकसहितको कार्यविवरण औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा संघले संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व, समन्वय र नतिजामुखी कार्यशैलीलाई अझ प्रभावकारी बनाउने उद्देश्यले स्पष्ट जिम्मेवारी निर्धारण गरिएको जनाएको छ। वार्षिक नीति तथा कार्यक्रमलाई निर्धारित समयसीमाभित्र सफलतापूर्वक कार्यान्वयन गर्न सबै पक्षको सक्रिय समन्वय आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको थियो।
संघका पदाधिकारीहरूले सदस्य सहकारी संघ–संस्थालाई अझ प्रभावकारी, गुणस्तरीय र उत्तरदायी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहकारी क्षेत्रको विकास, संस्थागत क्षमता अभिवृद्धि तथा सदस्य संस्थाको हितलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रमहरू सञ्चालन गरिने बताएका छन्।
संघका अनुसार कार्यसम्पादन लक्ष्यसहितको कार्यविवरण हस्तान्तरण व्यवस्थाले कर्मचारी र व्यवस्थापनबीच जिम्मेवारी स्पष्ट बनाउँदै नतिजामा आधारित कार्यसंस्कृति विकास गर्न सहयोग पुर्याउनेछ। यसबाट संघको समग्र कार्यक्षमता वृद्धि हुनुका साथै सदस्य संस्थाले प्राप्त गर्ने सेवाको गुणस्तरमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
