ट्रेण्डिङ

बेथानचोक गाउँपालिकाको आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम

  • अनलाइन काभ्रे
  • / अर्थ /
  • २०८३ श्रावण १३, बुधबार (८ घण्टा अघि)
  • ९ पटक पढिएको
बेथानचोक गाउँपालिकाको आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम
नेपालको संविधान, २०७२ बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा नेपाली जनताको सुशासन, विकास र समृद्धिको चाहाना पूरा गर्ने ध्येयका साथ संघ, प्रदेश र स्थानीय तहले आफनो ९ वर्षे कार्यकाल पूरा गरिसकेको छ । स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भई स्थानीय सरकारको दोस्रो कार्यकालको अवधिमा बेथानचोक गाउँपालिकाको १९ औँ गाउँसभामा आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशीको अनुभूति गरेको छु ।
नेपालको लोकतान्त्रिक आन्दोलनका प्रेरणाका अग्रजलाई स्मरण गर्दै नागरिक सर्वोच्चता, स्वतन्त्रता, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक रुपान्तरण र जनउत्तरदायी शासन प्रणाली स्थापनाको आकांक्षा सहित मिति २०८२ भदौ २३ र २४ गते युवापुस्ताको सहभागीतामा भएको आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने नागरिक तथा राष्ट्रसेवक एवम् लोकतन्त्र, स्वतन्त्रता र परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्नुहुने ज्ञात–अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरुको बलिदान यस राष्ट्रका लागि चिरस्मरणीय र प्रेरणाको अक्षय स्रोत बनिरहनेछ । उहाँहरुको त्याग, साहस र बलिदानलाई परिणाममुखी शासनमार्फत सार्थक बनाइनेछ भन्नेमा विश्वस्त छु ।
विपदबाट थिलथिलो भएको हाम्रो बेथानचोक गाउँपालिका स्थानीय सरकारको सक्रियताबाट बिस्तारै तङ्गरिने अवस्थामा पुगेको छ । “सहज यात्रा, हाम्रो संकल्प” मूल मन्त्र मानी यस आ.व. मा पाटीखर्क चलाल गणेशस्थान पार्थली गेल्डुङ च्याम्राङवेशी सडक निर्माण कार्य अन्तर्गत सडकको छेउमा रहेको बस्ती संरक्षण गर्ने गरी खोलाको दाँयाबाँया ३०० मि. प्लम वाल निर्माण, भञ्ज्याङ गोलगाउँ भुग्देउ मेदाम्सु सडक निर्माण कार्य अन्तर्गत ५ कि.मि. सडकमा दाँयाबाँया रिटेनिड संरचना, ड्रेन ग्याविन, प्लम वाल र सडक ग्राभेलिड, डोलाखोला खोरथली गुवाभञ्ज्याङ सडक अन्तर्गत मुख्य सडकमा गएको गुवाभञ्ज्याङ पहिरो, गुँरासे पहिरो, पार्थली पहिरोमा ग्याविन जाली लगाई पहिरो नियन्त्रण, दुर्लुङखोला सडक स्तरोन्नति अन्तर्गत बस्ती संरक्षणको लागि खोला छेउमा १८० मि.प्लम वाल निर्माण भईरहेको, खोर्याङ पट्गाउँवेशी मदनबास भड्गाला खाल्टे सडक ग्राभेलिङ तथा मर्मत बेथानचोक ४ र ५ (७ कि.मि. सडक), बेथानचोक वेलीब्रीज सम्पन्न भईसकेका छन् । स्वस्थ खानेपानी बेथानचोकबासीलाई पु¥याउन “एक घर, एक धारा” बेथानचोक पालिकास्तरीय खानेपानी आयोजना अन्तर्गत बेथानचोक वडा वडाभरी खानेपानी आयोजना निर्माण कार्य भईरहेको छ । नेपालको संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वयन गर्न ४ करोड ७५ लाखमा च्यासिंखर्क स्वास्थ्य चौकी तथा च्याम्राङवेशी स्वास्थ्यचौकी निर्माण सम्पन्न भईसकेको छ भने चलालगणेशस्थान स्वास्थ्यचौकी भवन निर्माण अन्तर्गत १ तला स्वास्थ्य चौकी भवन निर्माण भईरहेको छ । पर्यटन मार्फत बेथानचोकको समृद्धि हाँसिल गर्न बेथानचोक गाउँपालिका वडा नं. ३ मा वैष्णव पार्क तथा गुरुकुल भवन निर्माणका लागि ३ करोड ५० लाखमा ठेक्का सम्झौता भई कार्यान्वयनमा गएको अवस्था छ ।
मध्यपूर्व एशियामा विकसित संकटका कारण पेट्रोलियम पदार्थमा भएको अस्वभाविक मूल्य वृद्धि, निजी क्षेत्रको मनोवल कमजोर भएका कारण सार्वजनिक लगानीमा कमी, सरकारको पूँजीगत खर्चको न्यून क्षमता, न्यून आर्थिक क्रियाकलापले गर्दा राजश्व संकलनमा कमीका कारण संघीय सरकारले प्रतिवद्धता जनाए बमोजिम संघीय समानीकरण अनुदान र संघीय राजश्व बाँडफाँडमा कमी भई अन्य स्थानीय सरकार जस्तै बेथानचोक सरकार पनि घाटा बजेटमा सज्चालन हुनपरेको अवस्था छ ।
सार्वजनिक सेवा वितरण मार्फत लोकतन्त्रलाई उपभोग्य बनाउन बेथानचोक सरकार सचेत छ । यसैलाई मध्यनजर गर्दै नेपालको संविधानको मर्म तथा भावना, स्थानीय सरकार सञ्चालन ऐन २०७४, दीगो विकास लक्ष्य (२०१६–२०३०), सोहौ योजना, नेपाल सरकार तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम, बेथानचोक गाउँपालिका तथा गाउँसभाबाट पारित ऐन नियमावली तथा कार्यविधिहरु, स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन तथा प्रचलित कानून तथा मापदण्डलाई आधार बनाई सार्वजनिक चासोलाई मुल मन्त्र मानी यो नीति तथा कार्यक्रम तय गरिएको छ ।
माननीय सभा सदस्यज्यूहरु,
अब, आ.व. २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
१) आयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन सम्बन्धी नीति
प्रभावकारी आयोजना व्यवस्थापनका लागि संघ र प्रदेशसँग आवद्धता सहितको आयोजना बैंक सूचना प्रणाली कार्यान्वयनमा ल्याइनेछ ।
नतिजामूलक आयोजना प्रणालीका लागि सहभागीता सहितको विद्युतीय अनुगमन तथा मूल्यांकन प्रणाली शुरु गरिनेछ ।
आयोजनाबाट प्राप्त नतिजाको प्रभाव विश्लेषणका लागि सार्वजनिक लेखा परीक्षण, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई जस्ता उत्तरदायित्व टुल्सको उपयोग गरिनेछ ।
२) सुशासन प्रवद्र्धन तथा संस्थागत विकास सम्बन्धी नीति
सेवा प्रवाहलाई झन्झटमुक्त बनाउन सेवा मापनको आधार वान स्टप सर्भिस सेन्टरको शुरुवात गरिनेछ ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई आवश्यकतामा आधारित तालिम संचालन गरिनेछ ।
आन्तरिक नियन्त्रण प्रणालीमा सुदृढीकरण गरी बेरुजुमा कमी ल्याइनेछ । बेरुजु फस्र्यौटलाई व्यवस्थित गरिनेछ ।
डिजिटल गभरनेन्सका लागि समग्र बेथानचोक भरी डिजिटल इको सिस्टममा सुधार गरिनेछ ।
सूचना प्रविधिमैत्री सेवा प्रवाहका लागि कर्मचारीहरुलाई सूचना प्रविधि तालिम सञ्चालन गरिनेछ । अग्रभागमा बसेर सेवा प्रवाह गर्ने कर्मचारीलाई सेवाग्राही उन्मुख व्यवहार अभिवृद्धिका लागि आवश्यक तालिम उपलब्ध गराइनेछ ।
नागरिक वडापत्रको प्रभावकारिता वृद्धि गर्न प्रविधिमा आधारित नागरिक वडापत्र तयार गरिनेछ ।
नागरिक वडापत्रलाई सबै तह तथा वर्गको पहुँचमा पु¥याउन नागरिक वडापत्रमा स्थानीय भाषाको प्रयोगको शुरुआत गरिनेछ ।
बेथानचोकको स्वास्थ्य संस्था, गाउँपालिका तथा विद्यालयमा करार सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुविधा थप विस्तार गरिनेछ ।
सेवा प्रवाहमा कमजोर वर्ग, अपाङ्गता तथा भौगोलिक विकट क्षेत्रमा रहने सेवाग्राहीका लागि समावेशी नीतिको अवलम्बन गरी घुम्ती शिविरलाई निरन्तरता दिइनेछ ।
स्थानीय सरकारलाई सर्जमिनको सरकार अनुभूति गराउन कर्मचारी, जनप्रतिनिधिको उपस्थितिमा अन्तरसंवाद कार्यक्रम सञ्चालन गरिनेछ ।
लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रलाई लगानीमा लागि प्रोत्साहन गरिनेछ ।
३) विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी नीति
विपद् जोखिम पूर्वानुमान, पूर्वतयारी, प्रतिकार्य र पुर्नलाभ सम्बन्धी क्षमता विकासका लागि आवश्यक बन्दोबस्त तथा सचेतनाका कार्यक्रम संचालन गरिनेछ ।
विकास निर्माणका गतिविधि सञ्चालन गर्दा विपद् जोखिमका सम्बन्धमा विचार पु¥याइनेछ ।
प्रकोप व्यवस्थापन कोषमा रकम थप गरी विपद व्यवस्थापन तथा क्षमता विकास गरिनेछ ।
जलवायू परिवर्तन अनुकूलन क्षमता अभिवृद्धि तथा प्रतिकूल प्रभावको न्यूनीकरणका लागि साझेदारीमा कार्यक्रम संचालन गरिनेछ ।
विपदमा परेका, जटिल रोग लागेकालाई सामाजिक संरक्षणको जीवनचक्र सिद्धान्त अन्तर्गत “वडाध्यक्ष मार्फत विपद् सहयोग” कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
दीगो वन व्यवस्थापनको अवधारणालाई कार्यान्वय गर्न प्रदेशसँगको समन्वयमा झाडी फडानी गरी फलफूल तथा जडीबुटीको वृक्षारोपण गरिनेछ ।
सामुदायिक वनको सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यक कार्यविधि तयार गरी वन कार्ययोजना निर्माण, कार्यान्वयन तथा बहुउद्देश्यीय उपयोगको व्यवस्था मिलाइनेछ ।
सामुदायिक वनभित्र बोटानिकल गार्डेन निर्माण गरी जैविक विविधता संरक्षण, दुर्लभ वनस्पति संरक्षण मार्फत पर्यटन प्रवद्र्धन गरिनेछ ।
गाउँको जैविक विविधता सम्मान हुनेगरी स्थान विशेष जैविक विविधताको पहिचान कायम गरिनेछ ।
विपद व्यवस्थापनमा आपतकालीन उद्धार तथा पर्यटन प्रवद्र्धन गर्न नेपाली सेनासँगको समन्वयमा हेलीप्याड निर्माणको थालनी गरिनेछ ।
विपदबाट क्षति भएका ३५१ घर पुनर्निर्माणको लागि विपद् प्राधिकरणसँग समन्वय गरी आवश्यक काम गरिनेछ ।
आगलागी नियन्त्रण तथा विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन जोखिमयुक्त क्षेत्रमा ँष्चभ ज्थमचबलत जडान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
बेथानचोकमा चट्याङ प्रवाहित क्षेत्रलाई समेट्ने गरी चट्याङ प्रतिरोधी प्रविधि जडान गरिनेछ ।
४) राजश्व सम्बन्धी नीति
व्यवसाय करको दायरा बढाई बढी भन्दा बढी व्यवसायीलाई कर तिर्न प्रोत्साहित गर्न विविध कार्यक्रमसहित कर जागरण कार्यक्रम संचालन गर्नुका साथै राजश्व संकलन कार्यलाई व्यवस्थित गर्न विद्युतीय प्रणालीको उपयोग गरी वडा कार्यालयबाट कर, शुल्क तथा दस्तुर असुल गर्ने व्यवस्था मिलाइनेछ ।
वार्षिक रुपमा व्यवसाय कर असुली कार्यलाई थप प्रभावकारी बनाउन “व्यवसाय कर तिरौं, विकास कार्यमा सरिक हौं“ भन्ने नाराका साथ वडा समिति र टोल विकास संस्थाहरुलाई अभिमुखीकरण सहित सशक्त बनाई परिचालन गरिनेछ ।
बेथानचोक गाउँपालिकाको स्वामित्वमा रहेको संरक्षण र भोगचलन गर्न सक्ने भवन, जग्गा जमिन, खोलानाला तथा प्राकृतिक स्रोतसाधनको अभिलेख अद्यावधिक गरी प्राप्त राजश्वलाई आम्दानीको माध्यमको रुपमा परिचालन गरिनेछ । यस्तो स्रोत परिचालन गर्दा प्रतिष्पर्धात्मक पद्धतिको अवलम्बन गरिनेछ ।
स्रोत परिचालन र व्यवस्थापनमा बेथानचोक गाउँपालिकालाई सक्षम र आत्मनिर्भर बनाउन प्रचलित कानून बमोजिम लगाउन सकिने सबै स्रोतहरुको वास्तविक पहिचान, विश्लेषण तथा राजश्व सम्भाव्यताको विस्तृत अध्ययन गरिनेछ ।
नयाँ खानीको पहिचान गरी राजश्वको दायरामा ल्याइनेछ । खानीबाट उत्सर्जन हुने माटोलाई पालिकासँगको समन्वयमा हटाईनेछ ।
५) पूर्वाधार विकास नीति
बेथानचोकमा उत्पादित वस्तुलाई बजारसँग जोड्न बाह्रै महिना सहज रुपमा सडक सञ्चालन हुने व्यवस्था मिलाइनेछ ।
जग्गा वर्गीकरणमा उल्लेख भएबमोजिम भौतिक पूर्वाधार निर्माण गर्न जोड दिइनेछ ।
गाउँपालिकाभित्रका नागरिकहरुलाई सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउन जनसहभागीतामा आधारित खानेपानी आयोजना संचालन गरिनेछ । हाल संचालनमा रहेको “एक घर, एक धारा” कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
बेथानचोकभित्र रहेको पुरातात्विक, धार्मिक, साँस्कृतिक महत्व बोकेको वस्तुहरुलाई संकलन गरी बेथानचोक संग्रहालय सञ्चालन गरिनेछ ।
प्रत्येक वर्ष ५ कि.मि. सडक कालोपत्रे गर्ने नीति मुताविक एक वडा, एक सडक खण्ड कालोपत्रे गर्ने कार्य शुरुआत गरिनेछ । यस अन्तर्गत च्याम्राङवेशी बजार क्षेत्र, पार्थली गुवाभञ्ज्याङ सडक खण्ड, सयँले नारायणस्थान सडक, च्याल्टी बजार क्षेत्र, पार्थली हस्पिटलचोक, भुग्देउ बजार क्षेत्र, छत्रे धर्मशाला तथा क्लवघरदेखि वडा कार्यालयसम्म कालोपत्रे तथा ढलान गरिनेछ ।
शहरी विकासको पूर्वाधारको स्तम्भको रुपमा मानिने सार्वजनिक शौचालय, खुल्ला पार्क र व्यायमशालाको स्थापना गरिनेछ ।
दीगो पूर्वाधार विकास मार्फत बेथानचोकको समृद्धिका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई हाम्रो प्राथमिकताको क्षेत्रमा परिचालन गरिनेछ ।
कृषि, उद्योग, पर्यटनसँग अग्रपृष्ठ अन्तरसम्बन्ध कायम हुनेगरी पूर्वाधार (बाटो, बिजुली, खानेपानी) को व्यवस्था मिलाइनेछ ।
यस बेथानचोक गाउँपालिकाको नक्सा पास कार्यविधि बन्नुअघि निर्माण भएका घरलाई स्थानीय सरकार सञ्चालन ऐन र वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम अभिलेखीकरण कार्यलाई निरन्तरता दिइनेछ ।
प्रमुख पर्यटकीय तथा सार्वजनिक स्थलहरुमा अपांगमैत्री सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
सार्वजनिक स्थल, सडक किनारा तथा पर्यटकीय क्षेत्रहरुमा सडक सौन्दर्गीकरण, हरियाली प्रवद्र्धन र सडक बत्तीको व्यवस्थापन गरिनेछ ।
बस्ती संरक्षण कार्यक्रमलाई प्राथमिकता साथ अगाडि बढाइनेछ ।
बेथानचोक गाउँपालिका वडा नं. ३ स्थित वैष्णव पार्कमा नवीनतम प्रविधि प्रयोग गरी नेपालकै पहिलो नमूना हाइड्रोलिक संरचना निर्माणलाई गाउँपालिकाको गौरवको योजनाको रुपमा विकास गरिनेछ ।
बेथानचोकको समग्र मानव विकास तथा आर्थिक विकासको आधारशीलाको रुपमा मानिएका पाटीखर्क चलालगणेशस्थान पार्थली गेल्डङ च्याम्राङवेशी सडक, पाट्नेभञ्ज्याङ दुर्लुङखोला बस्ती सुरक्षा तटबन्ध निर्माण, हस्पिटलचोक गैरीभञ्ज्याङ लोसे सडक, गुवाभञ्ज्याङ निगालेडाँडा च्याम्राङवेशी झिंगेडाँडा सुकुमफेदी सडक, वैष्णव गुरुकुल तथा पार्क निर्माण गैरीभञ्ज्याङ, चलाल स्वास्थ्यचौकी भवन, गोलगाउँ तावरी सिउरानी स्वास्थ्य चौकी सडक निर्माण, इन्टरनेशनल स्कुल तिप्चोक पार्थली सडक स्तरोन्नति, बेथानचोक स्तरीय खानेपानी आयोजना अन्तर्गत डाँडागाउँ दलित बस्ती खानेपानी, छिर्के फ्याङखोला खानेपानी, सौर्य सिरथली खानेपानी आयोजना महांकालथान बोल्दे हर्कभञ्ज्याङ सडक, कुनेखर्क सडक लगायतलाई पालिकास्तरीय गौरवका आयोजनाको रुपमा शुरु गरिनेछ ।
बेथानचोकमा जोखिम अवस्थित विद्युत पोलहरुलाई विद्युत प्राधिकरणको समन्वयमा स्थानान्तरण गरिनेछ ।
पार्थली सुरुङ मार्ग तथा बाहुसे ढुङ्गा चौतारा सुरुङ मार्गलाई काठमाण्डौ विश्वविद्यालयसँगको समन्वयमा प्राज्ञिक प्रयोगशालाको रुपमा उपयोग गरिनेछ ।
६) पर्यटन तथा सँस्कृति नीति
बेथानचोकमा रहेका धार्मिक, साँस्कृतिक, भौगोलिक सम्पदाहरुको बारेमा जानकारी दिन बेथानचोक पोर्टल सञ्चालन गरिनेछ ।
बेथानचोक गाउँपालिकाभित्र संचालनमा रहेका होटल, रिसोर्ट, होमस्टेहरुको प्रभावकारी नियमन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गरिनेछ ।
पर्यटन मार्फत बेथानचोक आयआर्जन क्षमता अभिवृद्धि गर्न तीनतले झरना तथा वैष्णव पार्कलाई प्रदेशसँगको सहकार्यमा विकास गरी मनोरञ्जन स्थल तथा धार्मिक आस्थाको केन्द्र बनाइनेछ ।
पर्यटनलाई योगसँग आवद्ध गर्न बेथानचोक होमस्टे होटल व्यवसायलाई प्रोत्साहन गरिनेछ ।
बेथानचोक केवलकार निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।
ल्होसार, नेवारी जात्रा, माघी पर्व, खैजडी भवन, तीज पर्वका लागि बजेट विनियोजन गरिनेछ ।
नेपालका उत्कृष्ट मानिएका स्थानीय तहसँग भगिनी समन्वय कायम गरी अनुभव आदानप्रदानको माध्यमबाट समग्र बेथानचोकको आर्थिक, सामाजिक, साँस्कृतिक पक्षको संरक्षण र संवद्र्धन गरिनेछ ।
बेथानचोक वडा नं. ४ स्थित रियो पाल्देन छोइलिङ गुम्बा, वैष्णव पार्क तथा गुरुकुललाई धार्मिक पर्यटन प्रवद्र्धन मार्फत आयआर्जनमा जोडिनेछ ।
बेथानचोकमा अवस्थित पुरातन पाटीपौवा, चौतारो, पँधेरोको संरक्षण तथा संवद्र्धन गर्न आवश्यक बजेटको व्यवस्था मिलाइनेछ ।
हरेक वडामा पर्यटन सम्भावनाको आधारमा एक वडा एक सेल्फी प्वाइन्टको रुपमा विकास गरिनेछ ।
साहित्य सिर्जना मार्फत बेथानचोक गाउँपालिकालाई चिनाउन बेथानचोक प्रज्ञा प्रतिष्ठान स्थापना गरिनेछ ।
पैदलमार्गबाट आन्तरिक पर्यटन आकर्षित गर्न गैरीभञ्ज्याङ–गजराम पर्वत–नारायणस्थान पदमार्ग विकास गरिनेछ ।
वैष्णव पार्कमा स्थापना हुने गुरुकुलमा वैदिक शिक्षा, योग, संस्कृत शिक्षाको पठनपाठन गराइनेछ ।
धार्मिक पर्यटन पवद्र्धनका लागि मन्दिर, पदमार्ग तथा विश्रामस्थल निर्माण गरिनेछ ।
पर्यटकमैत्री वातावरण निर्माणका लागि विश्रामस्थल, शौचालय, पार्किङ क्षेत्र तथा खानेपानी सुविधाको व्यवस्था मिलाइनेछ ।
प्रमुख पर्यटकीय धार्मिक तथा ऐतिहासिक स्थलहरु, नागेचौर, डम्फु पार्क, हिलेभञ्ज्याङ, बेथानचोक नारायण स्थान, कपेर महाङ्काल, तीनतले झरना, वैष्णव पार्क, रियोपाल्देन छोइलिङ गुम्बा, कर्मछेदेन पाल्देन गुम्बा, गुरुकुल, ब्राम्हणडाँडा, सिमपानी पार्क, कालापानी, शिवपार्वती गुफा, तिलेश्वर महादेव, क्षेत्रपाल महांकाल, शालिकराम धाम, थापाडाँडा पोखरी लगायतका क्षेत्रमा आधुनिक सूचना बोर्ड, दिशा सूचक चिन्ह तथा डिजिटल सूचना प्रणाली स्थापना गरिनेछ ।
विपदबाट भएको सडक क्षतिका कारण सुरु हुन नसकेको बेथानचोक सफारी यसै आ.व. बाट शुरु गरिनेछ ।
७) स्थानीय रोजगार नीति
बेथानचोक गाउँपालिकामा दीगो तथा सम्मानजनक रोजगारी सिर्जनाका लागि बेथानचोक गाउँपालिकाबाट सञ्चालन हुने आयोजनालाई रोजगारीसँग आवद्ध गरिनेछ ।
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक तथा वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यहरुलाई स्वरोजगार तथा उद्यमशीलतामा संलग्न गराउन उद्यमशीलता विकास, व्यवसाय व्यवस्थापन तथा वित्तीय साक्षरता सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको सीप, अनुभव र बजारको मागका आधारमा सीप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्थानीय स्तरमा उद्यम तथा व्यवसाय सञ्चालन गर्न प्राविधिक परामर्श, व्यवसाय विकास सेवा तथा सहुलियतपूर्ण ब्याज अनुदान कार्यक्रमसँग आवद्ध गरिनेछ ।
सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी सम्बन्धी सचेतना अभिवृद्धिका लागि वैदेशिक रोजगारीमा जान इच्छुक युवाहरुलाई लक्षित गरी जनचेतनामूलक तथा अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
वैदेशिक रोजगारीमा जाने तथा पुनः वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको श्रम स्वीकृती तथा पुनः श्रम स्वीकृती प्रक्रियामा आवश्यक सहजीकरण तथा परामर्श सेवा प्रदान गरिनेछ ।
श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका श्रमिक तथा उनीहरुका परिवारले प्राप्त गर्ने विभिन्न कल्याणकारी सेवाहरु (उद्धार, खोजतलास, शव व्यवस्थापन, आर्थिक सहायता तथा वैदेशिक रोजगारीका क्रममा) अभिभावक गुमाएका बालबालिका तथा सन्तति छात्रवृत्ति लगायतका सेवाहरुमा पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण गरिनेछ ।
संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने पूर्वाधार विकास तथा सार्वजनिक निर्माणका आयोजनाहरुमा रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत बेरोजगार व्यक्तिहरुलाई प्राथमिकताका आधारमा रोजगारमा संलग्न गराउने व्यवस्था मिलाइनेछ ।
स्थानीय स्तरमा उपलब्ध स्रोतसाधन र सम्भावनाको उपयोग गरी आन्तरिक रोजगारी प्रवद्र्धन तथा स्वरोजगार सिर्जानामा विशेष जोड दिइनेछ ।
रोजगार सीप तथा उद्यमशीलता कार्यक्रम मार्फत बेरोजगार व्यक्तिहरुको दर्ता, रोजगार सूचना सेवा प्रवाह, रोजगार मिलान, परामर्श र श्रम बजार सूचना गाउँपालिकामा रहेको सीपयुक्त जनशक्ति तथा रोजगारदाताको नक्साङ्कन जस्ता सेवाहरुलाई थप प्रभावकारी बनाइनेछ ।
८) कृषि तथा पशु सम्बन्धी नीति
बेथानचोकको विशेष पहिचानको रुपमा रहेको भुगोल र माटो सुहाउने खेतीका लागि “एक वडा, एक कृषि उत्पादन” कार्यक्रम (कफी, तरकारी, जडीबुटी, सुन्तला, चिया, कागती, केरा, अदुवा, बेसार, आलु) लाई प्राथमिकता दिई कृषि पर्यटन पार्कको अवधारणामा लगिनेछ ।
बेथानचोक गाउँपालिकामा रहेको बाँझो जमीनको लगत तयार गरी सो जग्गामा खेती गर्ने कृषकहरुलाई प्रोत्साहन गरिनेछ ।
कृषिमा आधुनिकीकरणका लागि कृषि यान्त्रिकरण र स्मार्ट कृषि प्रविधिका लागि संघ र प्रदेश सरकारसँग सहकार्य र समन्वय गरिनेछ ।
जलवायू परिवर्तन तथा प्राकृतिक विपद, रोग, किरा वा महामारीका कारणबाट कृषि क्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्न कृषकहरुलाई कृषि, पशुपंक्षी र जडीबुटी विमामा आवद्ध गर्न प्रोत्साहन गरिनेछ ।
विदेशबाट फर्केका र स्थानीय युवाहरुलाई आकर्षित गर्न स्थानीय युवाहरुलाई आकर्षित गर्न सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
कृषकलाई उत्पादनदेखि बजारीकरणसम्म मूल्य श्रृङ्खलामा आवद्ध गरिनेछ ।
रासायनिक विषादी न्यूनीकरणका लागि सबै वडामा विषादी सम्बन्धी सचेतना कार्यक्रम गरी आइ.पी.एम. प्रविधि अवलम्बन गरी सुरक्षित कृषि प्रणालीलाई प्रोत्साहन गरिनेछ ।
माटो परीक्षण, माटो सुधार तथा व्यवस्थापन कार्यक्रम निःशुल्क रुपमा सञ्चाल गरिनेछ ।
उन्नत विउविजन तथा उन्नत जातका फलफूल विरुवा अनुदानमा वितरण गरिनेछ ।
कृषकहरुले खेती गरिरहेका बालीनालीमा लाग्ने रोग किरा पहिचान गरी तिनको नियन्त्रणका लागि विषयविज्ञहरुमार्फत प्लान्ट क्लिनिक कार्यक्रम तथा बाली शिविर कार्यक्रम सञ्चालन गरिनेछ ।
कृषि र पर्यटनबीच अन्तरआवद्धता कायम गरी जनताको आयआर्जन क्षमता विकास गरिनेछ ।
कृषकहरुलाई मागको आधारमा प्राविधिक तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम निःशुल्क सञ्चालन गरिनेछ ।
कृषि अनुदानलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन किसान सूचीकरण कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरी सबै कृषकहरुलाई सफ्टवेयरमा आधारित प्रणालीमा आवद्ध गरी किसान परिचयपत्र वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
बेथानचोक गाउँपालिका अन्तर्गतका व्यवसायिक पशुपालन फर्मलाई आधुनिकीकरण गर्दै सफ्टवेयर प्रणाली मार्फत तथ्यांक संकलन गरी सेवा प्रवाहमा सहजीकरण गरिनेछ ।
पशुवस्तुको नश्ल सुधारका लागि निःशुल्क ए.आई. कार्यक्रमलाई निरन्तरता दिइनेछ । दक्ष प्राविधिक जनशक्ति तयारीका लागि तालिम संचालन गरिनेछ ।
दुध उत्पादनमा आधारित अनुदानलाई निरन्तरता दिइनेछ ।
मानव स्वास्थ्यमा असर पर्ने रेबिज रोग नियन्त्रणका गर्न सामुदायिक तथा घरपालुवा कुकुरको संख्या घटाउनका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिनेछ ।
पशुहरुमा देखिने आकस्मिक रोग नियन्त्रणका लागि प्रदेश तथा संघ सरकारको समन्वयमा शिविर कार्यक्रम सञ्चालन गरिनेछ । पशु रोग नियन्त्रणका लागि न्यूनतम रुपमा औषधी उपचार सेवा उपलब्ध गराइनेछ ।
कृषि मार्फत समृद्धि हाँसिल गर्न हरेक घर करेसाबारी, हरेक गाउँ हरियाली कायम गरी ब्नचय–त्यगचष्कm  मा अन्तरआवद्ध गरिनेछ ।
हाल बेथानचोक वडा नं. २ मा सञ्चालित समुदायमा आधारित कृषि “एक वडा, एक उत्पादन“ कार्यक्रमलाई अन्य वडामा समेत विस्तार गरिनेछ ।
बेथानचोकमा सम्भावनाको रुपमा देखिएको स्याउ उत्पादन प्रवद्र्धन गर्न संघ÷प्रदेशसँग समन्वय गरिनेछ ।
बेथानचोकमा रहेका जडिबुटी तथा वनस्पतिको अध्ययन अनुसन्धान गर्न शैक्षिक भ्रमणलाई प्रोत्साहन गरिनेछ ।
बाँदर नियन्त्रणका लागि संघ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा आधुनिक प्रविधिको अवलम्बन गरिनेछ ।
९) लघु उद्यम विकास नीति
बेथानचोक गाउँपालिकाभित्र उपलब्ध स्थानीय स्रोतसाधन, सीप तथा प्रविधिमा आधारित लघु, घरेलु तथा साना उद्यमहरुको विकास र विस्तार गरिनेछ ।
बेरोजगार युवा, महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, विपन्न परिवार तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई उद्यमशीलता विकास मार्फत आत्मनिर्भर बनाइनेछ ।
सञ्चालनमा रहेका उद्यमहरुको स्तरोन्नति, आधुनिकीकरण तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी उत्पादित वस्तु तथा सेवाको गुणस्तर सुधार, ब्रान्डिङ, लेबलिङ, प्याकेजिङ तथा बजारीकरणमा विशेष प्राथमिकता दिइनेछ ।
स्थानीय उत्पादनको प्रवद्र्धन तथा विक्री वितरणका लागि बेथानचोक कोसेली घरलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन गरिनेछ ।
सीप विकास तालिम प्राप्त गरी व्यक्तिगत तथा सामुहिक रुपमा उद्यम÷व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरुको अनुगमन गरी मागमा आधारित एड्भान्स तालिम, सीप परीक्षण, उपयुक्त प्रविधिमा पहुँच, वित्तीय सेवामा पहुँच, उत्पादित वस्तु तथा सेवाहरुको बजारीकरण लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
उद्यमीहरुको तथ्यांक व्यवस्थापन, अभिलेखीकरण तथा सूचना प्रणालीलाई व्यवस्थित बनाइनेछ ।
घरेलु मदिरालाई ब्रान्डिङ गरी बजारीकरण गरिनेछ ।
१०) न्याय सम्बन्धी नीति
न्यायिक सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी न्यायिक घरदैलो कार्यक्रम तथा घुम्ती न्यायिक सेवा शिविर सञ्चालन गरिनेछ ।
साइबर अपराध रोकथाम नियन्त्रण गर्न साइबर सुरक्षा सचेतना कार्यक्रमलाई वडास्तरसम्म विस्तार गरिनेछ ।
उत्कृष्ट कार्य गर्ने मेलमिलाप कार्यकर्तालाई सम्मान तथा मिलापत्र गरेबापत कार्यविधि बनाई पारिश्रमिकको व्यवस्था गरिनेछ । प्रत्येक वडामा मेलमिलाप केन्द्रको प्रभावकारी सञ्चालन गरिनेछ ।
न्यायिक समितिका निर्णय तथा कार्यसम्पादन सुधारका लागि अन्तरपालिका अनुभव आदानप्रादन कार्यक्रम तथा न्यायिक बहस कार्यक्रम सञ्चालन गरिनेछ ।
न्यायिक शाखाको अभिलेख व्यवस्थापनलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिनेछ ।
नागरिकमा कानूनी सचेतना अभिवृद्धि गर्न प्रत्येक वडा र टोलमा जनतासँग कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
विद्यालय तथा क्याम्पसमा मौजुदा कानुन सम्बन्धी अभिमूखीकरण तालिम तथा डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
११) महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी नीति
बालमैत्री स्थानीय तह निर्माणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
बाबुआमा विहिन बालबालिकाको संरक्षणका लागि अनुदान उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
बालक्लव, बालक्लव सञ्जाल, महिला समूह, सहकारी संस्था मार्फत लैंगिक हिंसा, बाल विवाह, घरेलु हिंसाका घटना न्यूनीकरणका लागि काम गरिनेछ ।
गाउँपालिका र वडा कार्यालयमा स्तनपान कक्षको व्यवस्था गरिनेछ ।
ज्येष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरण SIMS प्रणाली मार्फत प्रदान गरिनेछ ।
अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहज पहुँचका लागि परिचय पत्र वितरण सम्बन्धी घुम्ती शिविर सञ्चालन गरिनेछ ।
महिला सशक्तिकरण मार्फत क्षमता अभिवृद्धि गर्न “उपाध्यक्षसँग महिला पहिला कार्यक्रम” लाई निरन्तरता दिइनेछ ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि नेतृत्व विकास, क्षमता विकास सम्बन्धी तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
ज्येष्ठ नागरिकको अनुभव, सीप, योग्यताको उपयोग गर्न ज्येष्ठ नागरिकमैत्री कार्यक्रम ल्याइनेछ ।
१२) सहकारी नीति
सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई अनुसरण गर्नका लागि सबै सहकारी संस्थाहरुलाई अभिप्रेरित गरिनेछ ।
बेथानचोक गाउँपालिकाभित्रका सबै सहकारीहरुलाई अनलाइन सफ्टवेयर कोपोमिस प्रणालीमा अनिवार्य आवद्ध गरिनेछ ।
सबै सहकारीको नियमित स्थलगत निरीक्षण, अनुगमन तथा मूल्यांकन कार्य प्रतिवेदन सहित प्रभावकारी व्यवस्था गरिनेछ ।
स–साना र निष्क्रिय सहकारीहरुलाई एकआपसमा गाभिन प्रोत्साहित गरिनेछ ।
सहकारीका पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न तालिम संचालन गरिनेछ ।
सहकारीमा आवद्ध पिछडिएको वर्ग, एकल असहाय महिलाहरुका लागि व्यवसायिक तथा सीपमूलक तालिमलाई व्यवस्थित गर्दै लगिनेछ ।
१३) स्वास्थ्य नीति
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रत्येक वडाबाट उपलब्ध गराइनेछ ।
बेथानचोक–४ गुम्बुडाँडामा रहेको बेथानचोक आधारभूत अस्पताल यस आ.व. देखि सञ्चालनमा ल्याइनेछ ।
गाउँपालिकाभित्रका वडा÷ संघसंस्था÷ अस्पताल लगायतले स्वास्थ्यसँग सम्बन्धित कुनैपनि कार्यक्रम÷ शिविर सञ्चालनका लागि गाउँपालिकामा अनिवार्य स्वीकृति लिई सञ्चालन गर्ने व्यवस्था कडाईका साथ लागू गरिनेछ ।
गर्भवती सुत्केरी र बालबालिकाहरुको पोषणका लागि समुदायस्तरमा कार्यक्रम सञ्चालन गरिनेछ ।
महामारीजन्य तथा अन्य रोग नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको सहकार्यमा समुदायको माग बमोजिम विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
प्राकृतिक प्रकोप तथा महामारीको समयमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको उच्च मनोवल कायम राख्न आवश्यक सेवासुविधाको व्यवस्था गरिनेछ ।
स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि गर्न आवश्यक विभिन्न तालिमहरु सञ्चालन गरिनेछ ।
नागरिक आरोग्य सेवालाई विस्तार गर्दै लगिनेछ ।
नसर्ने रोग नियन्त्रणका लागि सबै नागरिकहरुको स्वास्थ्य संस्थाबाट स्क्रिनिङ गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ ।
घरमा सुत्केरी हुने दरलाई शुन्यमा राख्न आमा समूह मार्फत समुदायस्तरमा गर्भवती सुत्केरी भेटघाट तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ साथै सुत्केरी भेटघाट कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
नेपाल सरकारले तोकेबमोजिम औषधी र औषधीजन्य सामाग्रीको बाहै महिना सहज आपूर्ति गरी स्वास्थ्य संस्थाहरुमा आवश्यक औजार उपकरणको व्यवस्था गरिनेछ ।
ज्येष्ठ नागरिकहरुको उपचारको लागि जिल्लाभित्र रहेका अस्तालहरुसँग समन्वय गरी सहज, सरल र निश्चित छुटको व्यवस्थामा पहल गरिनेछ ।
गर्भवती उत्प्रेरणा तथा सुत्केरी यातायात खर्चलाई निरन्तरता दिइनेछ ।
ढुंखर्क स्वास्थ्य चौकीबाट मासिक रुपमा सञ्चालनमा भैरहेको Dental Clinic सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
शरीरको चालचलन, मांशपेशी, जोर्नी तथा स्नायू समस्याको उपचार गर्न यस आ.व. देखि बेथानचोक २ र ६ मा थेरापी सेवा शुरु गरिनेछ ।
क्षयरोग नियन्त्रणका लागि सबै वडामा भिडियो एक्सरेको माध्यमबाट क्षयरोगी पत्ता लगाई निःशुल्क उपचारको व्यवस्थालाई विस्तार गर्दै लगिनेछ ।
पूर्ण खोप सुनिश्चितता तथा दीगोपनाका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
स्त्री रोग सम्बन्धी सबै वडामा अस्पतालहरुको समन्वयमा स्क्रिनिङ क्याम्प सञ्चालन गरी निःशुल्क अपरेसनको व्यवस्था मिलाइनेछ ।
बेथानचोक दुर्गम स्थानमा रहेको बेथानचोक वडा नं. ६ मा छुट्टै एम्बुलेन्स सेवाका लागि एम्बुलेन्स खरिद गरिनेछ ।
१४) खेलकुद नीति
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल इभेन्ट थप गर्दै लगिनेछ ।
बेथानचोक गाउँपालिकामा छुट्टै युवा तथा खेलकुद शाखा स्थापना गरी खेलकुद गतिविधि सञ्चलान गरिनेछ ।
राष्ट्रनिर्माणमा युवाको योगदान बढाउन अध्यक्षसँग युवा कार्यक्रम सञ्चालन गरिनेछ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित राष्ट्रिय खेल भलिबललाई प्राथमिकता दिई ‘बेथानचोक कप भलिबल प्रतियोगिता’ लाई निरन्तरता दिईनेछ । साथै फुटबल, सितोरियो कराँते, तेक्वान्दो, कवड्डी, चेस, ब्याडमिन्टन, टेनिस लगायतका खेलकुद प्रतियोगितालाई पनि प्रोत्साहित गरिनेछ ।
स्वस्थ समाज निर्माणका लागि प्रत्येक वडामा खेल मैदान तथा खुला व्यायमशाला निर्माण गरिनेछ ।
बेथानचोकमा फुटसल खेलको विकासका लागि फुटसल ग्राउन्ड निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।
१५) शिक्षा नीति
माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको रुची, खुसी र क्षमता पहिचान गरी वृत्तिमार्ग निर्देशनका लागि Counselling कार्यक्रम सञ्चालन गरिनेछ ।
विद्यालयको न्यूनतम विद्युत महशुल गाउँपालिकाले भुक्तानी गर्ने नीति लिइनेछ ।
निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयनका लागि विद्यालयमा परीक्षा सञ्चालन खर्च र विद्यार्थीलाई उत्तरपुस्तिका गाउँपालिकाले व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
बेथानचोकको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि विद्यालय मर्जर र डाउनसाइजिङ (Merger and Downsizing) का लागि प्रोत्साहित गरिनेछ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीको डिजाविलिटी स्क्रिनिङ गरी विद्यालय अध्ययनका लागि आवश्यक स्टेशनरीको व्यवस्था गरिनेछ ।
सम्बन्धित तहको स्थायी शिक्षक दरबन्दी भएको विद्यालयमा तहगत प्रधानाध्यापक र सम्बन्धित तहको स्थायी शिक्षक दरबन्दी नभएको विद्यालयमा उच्चतम तहको स्थायी शिक्षक प्रधानाध्यापक व्यवस्था गरिनेछ ।
आधुनिक समय र प्रविधिको तीव्र विकासको माग अनुसार शिक्षकहरुको क्षमता विकास गरिनेछ ।
कक्षाकोठामा पाठ्ययोजना, विद्यालयमा विद्यालय सुधार योजना र पालिका तहमा गाउँ शिक्षा योजना निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिइनेछ ।
लैंगिक समता, अपाङ्गता र सामाजिक समावेशीकरणका लागि आवश्यक कार्यक्रम र सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
विद्यालयका बालबालिकालाई वातावरण प्रति सचेत गराउन “एक विद्यालय, एक बगैंचा” कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
पार्वती बहुमुखी क्याम्पसमा सञ्चालित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
विगत आ.व. देखि सञ्चालित व्यवस्थापन, मानविकी, विज्ञान संकाय अन्तर्गत स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत मेधावी एक जनालाई प्रत्येक वर्ष छात्रवृत्ति स्वरुप पचास हजार र इन्जिनियरिङ अन्तर्गत एक लाख र MBBS अध्ययन गर्ने उत्कृष्ठ एक विद्यार्थीलाई दुइ लाख छात्रवृत्ति प्रदान गरिने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
बेथानचोक गाउँपालिकाको बारेमा स्नातकोत्तर र विद्यावारिधि तहमा शोधपत्र तयार गर्ने विद्यार्थीलाई प्रति शोधपत्र एक लाख दिने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
नवप्रवर्तन, कृत्रिम वौद्धिकतालाई उद्योग, व्यापार, कृषि, पर्यटन, प्रविधिमा उपयोग गर्न अध्ययन अनुसन्धान संस्था र विश्वविद्यालयसँग समन्वय गर्ने र STEAM शिक्षालाई प्रोत्साहन गर्न विश्वविद्यालयसँगै सहकार्य गरी बेथानचोकका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाइनेछ ।
बेथानचोकको ग्रामिण भेगमा रहेका विद्यालयहरुमा शिक्षक अभावको समस्या न्यूनीकरणका लागि “अध्यक्षसँग घुम्ती शिक्षक” कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
तामाङ, नेवारी तथा मगर भाषा प्रशिक्षणलाई नमुना कार्यक्रमको रुपमा विकास गरिनेछ ।
माथि उल्लेखित नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न संघ सरकारबाट कार्यान्वयन हुने बजेट रु.९,११,२०,००० ।– (नौ करोड एघार लाख विस हजार), प्रदेश सरकारबाट कार्यान्वयन हुने बजेट रु.२७,४९,९०,००० ।– (सत्ताईस करोड उनान्चास लाख नब्बे हजार) र बेथानचोक गाउँपालिकाबाट कार्यान्वयन हुने बजेट रु.६४,३५,६९,००० ।– (चौसठ्ठी करोड पैतिस लाख उनान्सत्तरी हजार, यसमा चालु रु.४०,००,००,००० ।– (चालिस करोड) र पूँजीगत रु. २४,३५,६९,००० ।– (चौबिस करोड पैतिस लाख उनानसत्तरी हजार)) गरी जम्मा रु.१,००,९६,७९,०००÷– (एक अर्ब छयानब्बे लाख उनासी हजार) बजेट विनियोजन भएको जानकारी गराउन चाहान्छु ।
अन्त्यमा मुलकमा आर्थिक शिथिलताको अवस्था विद्यमान भएपनि उपलब्ध स्रोत तथा साधनलाई विनियोजन दक्षता तथा कार्यान्वयन प्रभावकारीताका माध्यमबाट वित्तीय सुशासन कायम राख्दै बेथानचोक फेरी उठ्नेछ, बेथानचोक पहिलेकै अवस्थामा फर्कनेछ भनेर यहाँहरुलाई प्रतिबद्धता व्यक्त गर्न चाहान्छु । यो नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पु¥याउनुहुने सभाका सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, विषयगत समितिका पदाधिकारीहरु, वुद्धिजिवी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक लगायत सबैलाई हार्दिक धन्यवाद दिँदै नीति तथा कार्यक्रम अनुसार यस बेथानचोक गाउँपालिकालाई ‘समृद्ध बेथानचोक, सुखी बेथानचोकवासी’ को पथमा हिँड्न सबैलाई आव्हान गर्दछु । धन्यवाद ।
भगवान अधिकारी
अध्यक्ष
बेथानचोक गाउँपालिका