ट्रेण्डिङ

जिल्ला सहकारी संघ काभ्रेको सञ्चारकर्मीहरुसँग अन्तरक्रिया

  • अनलाइन काभ्रे
  • / अर्थ /
  • २०८३ भाद्र २८, आईतबार (१६ घण्टा अघि)
  • ७ पटक पढिएको
जिल्ला सहकारी संघ काभ्रेको सञ्चारकर्मीहरुसँग अन्तरक्रिया

काभ्रे । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको आयोजनामा जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्लामा सञ्चालित सहकारी संस्थाका गतिविधि, संघको भूमिका, वर्तमान अवस्था तथा सहकारी क्षेत्रका चुनौती लगायतका विषयमा सञ्चारकर्मीहरूसँग छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
जिल्ला सहकारी संघ लिमिटेड काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संघका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले जिल्ला सहकारी संघका गतिविधि, हालसम्म भएका काम तथा आगामी कार्यक्रमका विषयमा प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार काभ्रे जिल्लामा ६४६ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् भने तीमध्ये ५८५ वटा सहकारी जिल्ला सहकारी संघमा आबद्ध छन् । जिल्लाका १३ वटै स्थानीय तहमा सहकारी संस्थाहरू सञ्चालनमा रहेको छ । त्यसैगरी १३ वटै स्थानीय तहमा ५ सय ८५ वटा सहकारी संस्था छन् भने सबैभन्दा बढी बनेपा नगरपालिकामा २ सय १ वटा र सबैभन्दा थोरै भुम्लु गाउँपालिकामा ११ वटा रहेको अन्तरक्रियामा जानकारी गराइएको थियो ।


संघले हाल ऋण लगानी तथा बचतसम्बन्धी कार्य रोकिसकेको र सञ्चालनमा रहेका सेवा केन्द्रहरू पनि क्रमशः बन्द गर्दै लगिरहेको श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लाको सहकारी क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा, सुझाव तथा धारणालाई सम्बोधन गर्दै संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सञ्चारमाध्यम र सहकारी क्षेत्रबीच आवश्यक समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष शान्ति लामा वाइवाले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै स्वागत मन्तव्य राखिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्षत्रय ईश्वरी ओझा, महेश पौडेल, मोतिराम तिमल्सिना, अध्यक्ष विनोदकुमार न्यौपाने लगायतले जिल्ला सहकारी संघले गर्दै आएका गतिविधिका बारेमा महासंघले सञ्चारमाध्यम मार्फत सकारात्मक प्रचार गर्दै आएको उल्लेख गरे ।