ट्रेण्डिङ

भुम्लु गाउँपालिकाले गर्याे पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • अनलाइन काभ्रे
  • / कृषि /
  • २०८३ बैशाख १५, मंगलबार (२ महिना अघि)
  • २४७ पटक पढिएको
भुम्लु गाउँपालिकाले गर्याे पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

काभ्रे । भुम्लु गाउँपालिकाका प्रमुख एवं पालिकास्तरीय खोप समितिका संयोजक प्रेमबहादुर भुजेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौतमले मानिस सबै पक्ष राम्रो तर स्वास्थ्य राम्रो छैन भने सबै पक्ष राम्रो हुनुको कुनै अर्थ रहँदैन । त्यसैले नागरिकलाई यस्ता खालका स्वास्थ्यलाई लाभ हुने सेवा सुविधालाई निरन्तरता दिन जोड दिएका थिए ।
त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेले अबका केही महिनामा जिल्लाका सबै पालिकालाई यस अभियानमा संलग्न गराउने बताए । विश्वमा खोपको अवस्था तथा नेपालमा हाल भइरहेका खोप अभियानहरुका बारेमा जानकारी दिँदै राज्यले एकपटक एक जना बालबालिकालाई खोप लगाउँदा ७ हजार खर्च हुने जानकारी दिए । तथ्यांकअनुसार नेपालमा अहिले पनि हरेक दिन सरदर २३ जना बालबालिकाको मृत्यु हुने गरेको जानकारी दिँदै मृत्युदरमा कमी ल्याउन खोप लगाउनु अनिवार्य रहेको बताए ।
कार्यक्रममा पालिका अध्यक्ष प्रेमबहादुर भुजेलले पालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका मध्ये तेस्रो स्थानमा परेको छ भने यस वर्ष नमोबुद्ध नगरपालिका पहिलो र मण्डनदेउपुर नगरपालिका दोस्रो स्थानमा परेको छ ।
हाल पालिकामा १५ महिनामुनिका बालबालिका १५८ जना पूर्णखोप प्राप्त छन् । यस्तै १६ देखि २३ महिनासम्मका १२४ जना बालबालिका रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालकृष्ण गौतमले जानकारी दिए । जसमा वडा नम्बर १ मा २१ जना, वडा नम्बर २ मा १२ जना, वडा नम्बर ३ मा ७ जना, वडा नम्बर ४ मा ४ जना, वडा नम्बर ५ मा ६ जना, वडा नम्बर ६ मा ३५ जना, वडा नम्बर ७ मा ६ जना, वडा नम्बर ८ मा १२ जना, वडा नम्बर ९ मा १४ जना, वडा नम्बर १० मा ७ जना गरी जम्मा १ सय २४ जनाले पूर्णखोप प्राप्त गरेको गौतमले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले स्वागत मन्तव्य राखिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जितेन्द्र लामा, भुम्लुका रेडक्रस संयोजक मञ्जु शाह ठकुरी, वडा नम्बर ५ का वडाध्यक्ष अञ्चलकुमार मोक्तान, वडानम्बर ४ का वडाध्यक्ष लोकबहादुर कुँवर लगायतले शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी भुम्लु उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए ।