
काभ्रे । समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपांगता संरक्षण नेपालको आयोजना र पनौती नगरपालिकाको सहकार्यमा अपांगता भएका व्यक्तिहरुलाई क्षमता विकास सम्बन्धी एकदिने तालिम पनौतीको कुशादेवीमा सम्पन्न भएको छ ।
सोमबार प्रमुख अतिथि एवं पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले तालिमको उद्घाटन गर्दै अपांगता भएका व्यक्ति पनि यो समाजका नागरिक हुन् । जसरी एक सबल व्यक्तिले सम्पूर्ण आफ्ना आवश्यकता, सेवा, सुविधा पाएका छन्, त्यसैगरी अपांगता भएका व्यक्तिहरुले पनि उतिकै सेवा, सुविधा, आवश्यकताहरु पाउनुपर्छ । त्यसका लागि पालिकाबाट हरसम्भव ति सेवा, सुविधाहरुलाई सम्बोधन गर्ने बताएका छन् । रोग भनेको केही होइन, रोगसँग लड्ने क्षमता राख्नुपर्छ । तब मात्र आफूले सोचेको, जानेको काम पूरा गर्न सकिन्छ ।
अपांगता संरक्षण नेपालले जुन खालको कार्यक्रम अगाडि बढाएको छ, यसलाई अपांगता भएका व्यक्तिहरुका लागि पहुँचको रुपमा अगाडि बढाउन समेत प्रमुख भण्डारीले आग्रह गरेका छन् ।

त्यस्तै तालिममा बोल्दै पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जाराले अपांगता कार्ड प्रत्येक महिनाको १७ गते वितरण नगरपालिकाबाट भइरहेको जानकारी दिएका छन् । उपप्रमुख बञ्जाराले थप सेवा सुविधा बढाउनका निम्ति सरकारले यसतर्फ अझ बढी ध्यान दिनुपर्ने बताएका छन् । तालिममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, उपस्थिति रहेको तालिमको अध्यक्षता अपांगता संरक्षण नेपाल काभ्रे शाखाका अध्यक्ष नमराज तिमल्सिनाले गरेका छन् भने कार्यक्रमको सञ्चालन केन्द्रका अध्यक्ष विरोध खतिवडाले गरेका छन् ।
उक्त क्षमता विकास कार्यक्रममा अपांगताको अवधारणा तथा विकासक्रम, वर्गीकरण, अपांगता परिचय पत्र सम्बन्धी व्यवस्था, संवैधानिक तथा कानूनी व्यवस्था लगायतका विषयमा सहजकर्ता सृष्टि केसीले गरेका छन् ।

