
काभ्रे । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले पनौती नगरपालिका–५, नैकिनटारस्थित महर्षी मुद्गल सान्दिपनी गुरुकुललाई खाद्यान्न सहयोग गरेको छ ।
महासंघका पदाधिकारी तथा जिल्लामा क्रियाशील पत्रकारहरूले श्रीखण्डपुरस्थित गुरुकुल पुगेर चामल, दाल, तेल, चिनी, तरकारी, मसला, बिस्कुट र फलफूल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।
विन्धवासिनी आध्यात्मिक प्रतिष्ठानद्वारा सञ्चालन हुँदै आएको उक्त गुरुकुलमा हाल १७ जना बटुक अध्ययनरत छन् । कार्यक्रममा प्रतिष्ठानका संस्थापक परमाध्यक्ष अनन्त श्री विभूषित स्वामी श्री निःशेषानन्द गिरिजी महाराजले समाजमा सञ्चार माध्यमले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा आध्यात्मिक र संस्कारयुक्त शिक्षा प्रवद्र्धनका विषयमा पनि कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले स्थापना दिवसलाई अर्थपूर्ण बनाउने उद्देश्यले गुरुकुललाई सहयोग गरिएको बताए । कार्यक्रममा प्रतिष्ठान तथा गुरुकुलका तर्फबाट संयोजक रामप्रसाद तिमिल्सिना, बद्री तिमिल्सना लगायतले पत्रकार महासंघबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा महासंघ काभ्रेपलाञ्चोकका पूर्वअध्यक्षहरू ईश्वरी ओझा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमिल्सना, कार्यसमितिका सदस्यहरू तथा जिल्लामा सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो ।
