ट्रेण्डिङ

जिल्ला सहकारी संघ काभ्रेले विभिन्न कार्यक्रम गरी मनायो ६९औं राष्ट्रिय सहकारी दिवस

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ चैत्र २०, शुक्रबार (३ महिना अघि)
  • १९५ पटक पढिएको
जिल्ला सहकारी संघ काभ्रेले विभिन्न कार्यक्रम गरी मनायो ६९औं राष्ट्रिय सहकारी दिवस

काभ्रे । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले विभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।
‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ यस वर्षको सहकारी दिवसको नारा रहेको थियो । शुक्रबार संघका अध्यक्ष अमन पोटेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख एवं प्रमुख अतिथि शान्तिरत्न शाक्यले सहकारी क्षेत्रका समस्या समाधानमा स्थानीय सरकार सक्रिय रहेको उल्लेख गर्दै केही सहकारी संस्थाका कारण बचतकर्ताको रकम अझै जोखिममा रहेको बताए । समस्याग्रस्त सहकारीहरूको अनुसन्धान र अनुगमन भइरहेको बताएका थिए ।
त्यस्तै उपप्रमुख विमला सापकोटाले नगरभित्रका सहकारीहरूको व्यवस्थापन सुधार तथा उद्यमशीलता प्रवद्र्धनका लागि नगरपालिकाले निरन्तर समन्वय गर्दै आएको बताएकी थिइन् ।
कार्यक्रमको अवसरमा सहकारीका सञ्चालक तथा कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता, रक्तदान कार्यक्रम, संघ परिसरमा गणेश र लक्ष्मीको प्राण प्रतिष्ठा, सहकारीको झण्डोत्तोलन, वृक्षारोपण, क्यालेन्डर सार्वजनिक तथा उद्यमशील महिलाहरूको विशेष भेला जस्ता कार्यक्रमहरू सम्पन्न गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, राष्ट्रिय सहकारी बैंकका उपेन्द्र दाहाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम अन्तर्गत आयोजित फुटसल प्रतियोगितामा पाँचखालको स्वेच्छा बचत सहकारी प्रथम हुँदै नगद १५ हजारसहित शिल्ड र मेडल प्राप्त गर्न सफल भएको थियो भने पनौतीको इन्द्रेश्वर सहकारी दोस्रो हुँदै नगद १० हजार र बनेपाको एक्सप्रेस साकोस तेस्रो स्थान हासिल गर्दै नगद ५ हजारसहित पुरस्कृत भएका थिए ।