
काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको ४९औं जिल्ला सभाको उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले रेडक्रसलाई राजनीतिबाट मुक्त राख्नुस्, रेडक्रसको गरिमालाई अगाडि बढाउन जिम्मेवारका साथ सँगसँगै बढ्नेछु ।
शनिबार भएको सभामा प्रदेश सांसद सोना परियारले आफू विद्यार्थीकालमा जात्रा परेको बेलामा जेसिजको सदस्य हुँदा नै रेडक्रसको चन्दाबक्सामा सहयोग उठाएर दिएको स्मरण गर्दै बागमती प्रदेश सरकारको तर्फबाट रेडक्रसलाई सघाउनुपर्नेमा कुनै कञ्जुस्याईं नगर्ने बताइन् ।
त्यस्तै जिल्ला शाखा सभापति देवेन्द्रप्रसाद भैलले ब्लड बैंकको लागि २ करोड अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएकोमा हालसम्म ४२ लाख ६० रकम संकलन भएको जानकारी दिँदै सबै पालिकामा रेडक्रसले अनुरोध गरी माग गरेअनुसार काभ्रे जिल्लाको दुई अस्पताल धुलिखेल र मेथिनकोट, बेथानचोक, धुलिखेल, बनेपा, पाँचखाल र मण्डनदेउपुरबाट आफ्ना नागरिकहरुलाई एवं विन्धवासिनी साकोस, सामुदायिक साकोस र ज्योति मिर्मिरे साकोससँग पनि आफ्ना शेयर सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको बताए ।
काभ्रे जिल्लाका ३४ उपशाखाबाट आफ्ना क्रियाकलापहरु पठाउन पत्राचार गरिएकोमा १३ वटा उपशाखाले मात्र फारम उपलब्ध गराएको र सोही अनुसार पनौती उपशाखा प्रथम, मंगलटार उपशाखा दोस्रो र खोपासी उपशाखा तेस्रो भई नगद तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सभामा वडा अध्यक्ष हिटलर शाक्यले बनेपा नगरपालिका वडा नं. ७ को तर्फबाट १ लाख १५ हजार बराबरको सामग्री हस्तान्तरण र बेथानचोक नारी चेतना केन्द्रकी कोषाध्यक्ष शान्ति खत्रीबाट २ वटा रक्तदान चियर प्रदान गरिएको थियो ।
शनिबार सम्पन्न सभा शाखा सभापति देवेन्द्रप्रसाद भैलको सभापतित्वमा उपसभापति ज्ञानबहादुर तामाङले स्वागत मन्तव्य, उपमन्त्री प्रदीप केसीले धन्यवाद ज्ञापन राखेका थिए । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल, भक्तपुर शाखाका जिल्ला सभापति परशुराम पाण्डे, पूर्व सभापति श्यामसुन्दर श्रेष्ठ, बनेपा वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन मन्त्री राजु सिग्देलले गरेका थिए भने कोषाध्यक्ष प्रेमकुमार तामाङले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
