ट्रेण्डिङ

सशस्त्र प्रहरी बल १५ गण हे.क्वा. काभ्रेपलाञ्चोकको २४औं वार्षिकोत्सवमा विपद् उद्धारक टोलीलाई सम्मान

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ बैशाख २४, बिहिबार (२ महिना अघि)
  • ५०६ पटक पढिएको
सशस्त्र प्रहरी बल १५ गण हे.क्वा. काभ्रेपलाञ्चोकको २४औं वार्षिकोत्सवमा विपद् उद्धारक टोलीलाई सम्मान

काभ्रे । सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हे.क्वा. काभ्रेपलाञ्चोकको २४औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।
नम्बर ३ गढीमाई बाहिनीका बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिकोत्सवमा अमर सशस्त्र प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पुष्पगुच्छा अर्पण गरिएको थियो ।
प्रमुख अतिथि नायव महानिरीक्षक पोखरेलले राष्ट्रको सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षामा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउँदै अनुशासन, कर्तव्यनिष्ठा र जनसेवाको भावनालाई अझ सुदृढ बनाउँदै संगठनलाई थप प्रभावकारी बनाउने दिशामा सबै जिम्मेवार लाग्नुपर्ने बताए ।


त्यस्तै विशेष अतिथि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लाको शान्ति सुरक्षा कायम गर्न तथा विपद्का समयमा नागरिकको उद्धार र राहतमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए ।
वार्षिकोत्सवमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यले नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताए । विपद् तथा आपतकालीन अवस्थामा सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।


वैशाख २१ गते साँझदेखि अविरल परेको पानीको कारण रोशी–७ लास्कोट र घुमाउने खोलाको बीच भागमा नदिको बहाव बढ्न गई फसेका पाँचवटा माइक्रोबसका ८९ जना यात्रुहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीको नेतृत्वमा खटिएका विपद् उद्धारक टोलिले संगठनको छवि उच्च बनाउन साहसिक र व्यवसायिक कौशलताको उत्कृष्ट कार्यको प्रदर्शनी गर्दै उद्धारकार्य सहज एवं सफलतापूर्वक गरेको भन्दै सशस्त्र प्रहरी सहायक निरीक्षक भरत न्यौपाने, श्रीकृष्ण कार्की, बुद्धि खड्का, किरण कुँवर, अशोक जंग दनुवारलाई विभागीय सम्मान सहित नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने खेलकुद प्रतियोगिताका विजेता सशस्त्र प्रहरी कर्मचारीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै नम्बर ३ गढिमाई बाहिनी मुख्यालय, मकवानपुर सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले बाहिनीपतिबाट नगदसहित अभिलेख जनिने पुरस्कार प्राप्त गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा. काभ्रेका गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले उपस्थित अतिथि, सुरक्षाकर्मी तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरिएको कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।