ट्रेण्डिङ

सार्वजनिक जग्गा संरक्षण अभियानमा भुम्लु गाउँपालिका

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ बैशाख २४, बिहिबार (२ महिना अघि)
  • २२० पटक पढिएको
सार्वजनिक जग्गा संरक्षण अभियानमा भुम्लु गाउँपालिका

काभ्रे । भुम्लु गाउँपालिकाले सरकारी, सार्वजनिक तथा अतिक्रमणमा परेका जग्गाको संरक्षणका लागि रेखाङ्कन तथा नापजाँच अभियान सुरु गरेको छ। नेपाल सरकारको परिपत्रअनुसार सुरु गरिएको अभियानअन्तर्गत सार्वजनिक सम्पत्तिको वास्तविक अवस्था पहिचान गरी संरक्षण र व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको समन्वयमा जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, सडक बोर्ड, पूर्वाधार कार्यालय, सुरक्षा निकाय तथा नापी टोलीसहित सरोकारवाला निकायको संयुक्त सहभागितामा स्थलगत अनुगमन भइरहेको छ। प्रारम्भिक चरणमा वडा नम्बर ९ अन्तर्गत अरनिको राजमार्ग आसपासको ५४ किलो क्षेत्रदेखि वडा नम्बर ८ को दोलालघाट बजारसम्म सार्वजनिक जग्गाको पहिचान, विवरण संकलन, सडक अधिकार क्षेत्र निर्धारण तथा रेखाङ्कन कार्य अघि बढाइएको हो ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले अभियानलाई क्रमिक रूपमा विस्तार गर्दै गाउँपालिकाका सबै १० वटै वडामा सार्वजनिक जग्गाको पहिचान र अभिलेखीकरण गरिने जानकारी दिए । यस कार्यबाट स्थानीय तहमा पारदर्शिता बढ्नुका साथै विकास निर्माणका योजना कार्यान्वयनमा सहजता आउने विश्वास गाउँपालिकाले लिएको छ । गाउँपालिकाका उपाध्यक्ष जितेन्द्र तामाङले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थित उपयोग सुनिश्चित गर्न अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार यस अभियानले अतिक्रमण नियन्त्रण गर्नुका साथै अभिलेखीकरण प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।