ट्रेण्डिङ

बनेपा नगरपालिकाले आफ्नो सेवा नेपाल बनेपा बहुप्राविधिक शिक्षालयबाट दिने

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ अषाढ ४, बिहिबार (४ घण्टा अघि)
  • ६६ पटक पढिएको
बनेपा नगरपालिकाले आफ्नो सेवा नेपाल बनेपा बहुप्राविधिक शिक्षालयबाट दिने

काभ्रे । बनेपा नगरपालिकाको मुख्य कार्यालय भवन साउन १ गतेदेखि नेपाल बनेपा बहुप्राविधिक शिक्षालयबाट सेवा प्रवाह गर्ने भएको छ ।
बिहीबार नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा भवन पूजाआजा गरिएको छ ।
प्रमुख शाक्यले बनेपा नगरपालिका वडा नं. ५ स्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोग गर्ने निर्णय गरेको बताए ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त भएपछि हाल बनेपा–१० स्थित नगरपालिकाको कार्यालय भवनमा पर्याप्त स्थान अभावका कारण सेवाप्रवाहमा विभिन्न समस्या देखिँदै आएको प्रमुख शाक्यले बताए ।
उनले शिक्षालयलाई कुनै पनि किसिमको समस्या नपर्ने गरी सेवा प्रदान गर्ने वचनबद्धता गर्दै यही असार १० गते आ.व. ०८३/०८४ को नीति कार्यक्रम तथा बजेट सोही भवनमा हुने जानकारी समेत दिए । सोही अवसरमा विभिन्न जातका फलफूलहरुको २ सय वटा बिरुवा रोपिने बताए । नगरवासीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन अस्थायी कार्यालय व्यवस्थापनको विकल्प रोज्नुपरेको बताउँदै आन्दोलनका क्रममा भवनमा पुगेको क्षतिको प्राविधिक मूल्याङ्कन, पुनःनिर्माणको प्रक्रिया तथा आवश्यक बजेट व्यवस्थापनका कारण तत्काल नयाँ भवन निर्माण सम्भव नदेखिएको बताए ।
नगरवासीलाई सहज रूपमा सेवा प्रवाह गर्न थप व्यवस्थित र प्रभावकारी बनाउन बनेपा नगरपालिकाको नाममा रहेको जग्गामा निर्मित बहुप्राविधिक शिक्षालयको भवनबाट सेवा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख शाक्यले बताए ।
नगरपालिकाका अनुसार नयाँ भवन निर्माण सम्पन्न नहुँदासम्म बहुप्राविधिक शिक्षालयको भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोग गरिनेछ । यस अवधिमा प्रशासनिक सेवा, राजस्व संकलन, योजना शाखा, सामाजिक सुरक्षा तथा अन्य नियमित सेवा सोही स्थानबाट सञ्चालन गरिने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस