
काभ्रे । तेजेश्वरबाबु ग्वंग आफ्नो क्षेत्रका विख्यात व्यक्ति हुन् । उनले शिक्षा, साहित्य र संस्कृतिको उत्थानका लागि उल्लेखनीय भूमिका खेलेका छन् । त्यसो त उनको योगदान कलामा पनि कम छैन । माता शारदादेवी मल्ल ग्वंग र पिता निरञ्जनलाल ग्वंगका सुपुत्रको रुपमा वि.सं. १९९२ कार्तिक कृष्ण द्वादशीका दिन खौमा, भक्तपुरमा जन्मेका उनले नेपाली भाषा, नेपालभाषा र अंगे्रजी भाषामा साहित्य सिर्जना गर्दै समाजलाई चेतना प्रवाह गर्दै आएका छन् । आफ्नो मातृभाषा नेपाल भाषाका अतिरिक्त नेपाली र अंग्रेजीमा समेत राम्रो लेखन कला भएका उनले तीनओटै भाषामा साहित्य सिर्जना गर्दै आएका छन् । प्रारम्भमा नेपालभाषामा कलम चलाएका ग्वंगले आफ्ना गरु महाकवि लक्ष्मीप्रसाद देवकाोटाबाट नेपाली निबन्ध लेखनमा विशेष प्रोत्साहन पाएको सम्झना अझै उनको मनमस्टिष्कमा ताजै छ । यस्ता मूर्धन्य व्यक्तिको बारेमा अक्षरमार्गले विशेष अङ्क प्रकाशन गरेको छ । सो अङ्कको लोकार्पण वरिष्ठ साहित्यकार डा गोविन्दराज भट्टराई, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र संस्कृतिविद तेजेश्वरबाबु ज्वङगले हालै गर्नुभएको छ ।
उनले संस्कृतिया पलं (निबन्धसंग्रह ने.सं १११०) प्रकाशन गरे । नेपालीमा उनका संस्कृतिका आयाम (निबन्धसंग्रह २०५२), अवकाशपछिको आकाश (निबन्धसंग्रह २०६७), चराको गुँडझैँ जन्मस्थल–मेरो भक्तपुर (कवितासंग्रह २०७३), औकातभरिको सौगात (निबन्धसंग्रह २०७३), रब्ग भिज्ञान (निबन्धसंग्रह २०७४), मै एक मै अनेक ( २०८१) जस्ता कृतिका सर्जक ज्वंगको विशेष अङ्कमा प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ, रामसुन्दर देउजा, तुलसीहरि कोइराला, अगिब बनेपाली, डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, अभय श्रेष्ठ, प्रा.डा.कुमार कोइराला, डा.हरिप्रसाद सिलवाल, तिलक प्रकाश, गोपीकृष्ण ढुंगाना, जितेन्द्र रसिक, मोहन दुवाल, लक्ष्मणप्रसाद गौतम, जयदेव भट्टराई, रीबाबु कार्की, रा.डा. सुमनराज ताम्राकार, सूर्यप्रसाद लाकोजू लगायतका रचना रहेका छन् ।
अक्षरमार्गले विगत एक दशकदेखि भाषा, साहित्य, कला, संस्कृतिको विकास र विस्तारका लागि उल्लेखनीय योगदान दिँदै आएका साहित्यकारहरूको विशेष अङ्क एवम् पुस्तक प्रकाशित गर्दै आएको छ । यो पटक साहित्य, कला र संस्कृतिका कर्मयोगी साधक तेजेश्वरबाबु ज्वंगको विशेष अङ्क प्रकाशन गरेको हो । अक्षरमार्ग साहित्यकार तथा साहित्यिक पत्रकार सूर्यप्रसाद लाकोजूको सम्पादनमा प्रकाशित हुँदै आएको छ ।
