ट्रेण्डिङ

को हुन् बसुन्धरा हुमागाईं ?

नेपाली कम्युनिष्ट पार्टी, काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार
  • अनलाइन काभ्रे
  • / राजनीति /
  • २०८२ माघ १०, शनिबार (५ महिना अघि)
  • ३०७ पटक पढिएको
को हुन् बसुन्धरा हुमागाईं ?

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाई न्याय, समानता र परिवर्तनका पक्षधर नेताका रूपमा परिचित हुनुहुन्छ ।
बुवा नारायण हुमागाई र आमा पुष्पमाया हुमागाईको कोखबाट वि.सं. २०२७ साल मंसिर २८ गते काभ्रे जिल्लाको तत्कालीन भुमिडाँडा गाविसमा जन्मनु भएका हुमागाई सानैदेखि सामाजिक न्याय र परिवर्तनकारी विचारधारामा क्रियाशील रहँदै आउनु भएको हो ।
२६ वर्षकै उमेरमा गाविस अध्यक्ष बनेर नेतृत्वको सुरुवात गर्नु भएका हुमागाई सामाजिक क्रियाकलाप, समानतामूलक समाज निर्माण र जनमुखी विकासका अभियन्ता रहँदै आउनु भएको छ । केही समय शिक्षण पेशामा समेत संलग्न रहनु भएका उहाँ बागमती प्रदेशका सफल कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा चिनिनु हुन्छ ।
मन्त्रीका रूपमा १३ महिनाको कार्यकालमा उहाँले उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको बताइन्छ । सो अवधिमा कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित कार्यविधि ८ बाट बढाएर १४ वटा पु¥याइएको, समग्र बागमती प्रदेशका लागि ५५ बुँदे कृषि विकास मार्गचित्र तयार गरिएको र कृषि ऐन तथा पोलिसी विकास बोर्ड ल्याउने तयारी अन्तिम चरणमा पुगेको थियो । तर २०७९ सालको नवनिर्वाचित संसदका कारण ती ऐनहरू कार्यान्वयनमा आउन नसकेको उहाँको भनाइ छ ।
त्यसैगरी प्रदेशभित्र रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन, किसानका लागि घुम्ती कोषमार्फत ऋण, उत्पादनका आधारमा अनुदान तथा क्षतिपूर्ति, कृषि बीमा र दुग्ध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने कार्यक्रमको सुरुवात समेत उहाँकै कार्यकालमा भएको थियो ।
भौतिक पूर्वाधारतर्फ उहाँको कार्यकालमा जिल्लाभित्र ८–१० वटा ठूला सडक र पक्की पुल निर्माण भएका थिए भने सिंचाइ र खानेपानीका दर्जनौँ योजना कार्यान्वयन भएका छन् । काभ्रेका १३ वटै पालिकामा डिपिआर तयार भई अर्बौँ रुपैयाँ बराबरका विकास योजना पाइपलाइनमा रहेको उहाँले बताउनु भयो ।
उत्पादनको गुणस्तर र बजारीकरणलाई प्राथमिकता दिन सके स्वदेशमै दश हजारभन्दा बढी युवालाई रोजगारी सिर्जना गर्न सकिने उहाँको दाबी छ ।
काभ्रेको विकासका मुख्य चुनौतीबारे बोल्दै हुमागाईले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय नहुँदा योजनाबद्ध विकास प्रभावित भएको बताउनु भयो । कार्य विभाजन स्पष्ट नहुँदा एउटै योजनामा दोहोरो खर्च हुने अवस्था सिर्जना भएको भन्दै उहाँले तीनै तहका सरकारबीच सहकार्य र पारदर्शिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
समग्रमा समाजवादी व्यवस्थातर्फको यात्रा बिना मुलुकको रूपान्तरण सम्भव नहुने उहाँको निष्कर्ष छ । “जबसम्म समाजवादको तहसम्म पुगिँदैन, तबसम्म समाजवादी विचार र सिद्धान्तले पूर्ण न्याय पाउँदैन,” उहाँले भन्नुभयो, “समाजवादी यात्रामार्फत् नै देशलाई समृद्धि र रूपान्तरणको बाटोमा लैजान सकिन्छ ।”
हाल बसुन्धरा हुमागाई काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ ।