ट्रेण्डिङ

५ लाख १२ हजार ४२१ परीक्षार्थीले एसईई दिँदै

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८२ चैत्र १९, बिहिबार (६ महिना अघि)
  • ३१६ पटक पढिएको
५ लाख १२ हजार ४२१ परीक्षार्थीले एसईई दिँदै

भक्तपुर । यस वर्ष आज (बिहीबार) देखि एसइई शुरु भएको छ । जसमा नेपालबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएको छ ।
माध्यमिक शिक्षा (एसइई) परीक्षा बिगतका वर्षभन्दा केही फरक हुने भएको छ । परीक्षार्थीले जाँच दिएसँगै उत्तरपुस्तिका जाँच सुरु हुनेछ भने नतिजाका लागि तीन महिना लामो प्रतीक्षा गर्नुपर्ने छैन । एक महिनामा नै परीक्षाफल प्रकाशित हुनेछ ।
यसपटक परीक्षार्थीमा छात्रभन्दा छात्राको संख्या २ हजार ८ सय ६ जनाले बढी छ । आवश्यक तयारी पुरा भएको जनाएको राष्ट्रिय परीक्षा बोर्डका अनुसार १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सुरु भएको हो । परीक्षा केन्द्रमध्ये एउटा जापानमा पनि छ । परीक्षाको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।
चैत २९ गते सम्पन्न हुने परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिनेछन् । परीक्षार्थीमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०७ छात्र र अन्य सात जना परीक्षार्थी छन् ।
परीक्षामा सात प्रदेशमध्ये कोशीबाट ८२ हजार ४८७ जना, मधेस प्रदेशबाट ९० हजार २४३ जना, बागमती प्रदेशबाट १ लाख ९ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदूरपश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी रहेको बोर्डले जानकारी दिएको छ ।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछन् ।