
काभ्रे । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रतिष्ठानका सहायक कलेज प्रमुख नवराज चौलागाईंले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका थिए । व्यावसायिक तथा व्यावहारिक शिक्षाको महत्वमाथि प्रकाश पार्दै वर्तमान प्रतिस्पर्धी युगमा आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक मार्गदर्शन र अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । चौलागाईंले ज्ञानकुञ्जले केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेको बताउँदै विद्यार्थीहरूलाई आफ्नो क्षमता र सम्भावनाको अधिकतम उपयोग गर्दै जिम्मेवार, नैतिक तथा सक्षम नागरिक बन्न प्रेरित गरेका थिए ।

त्यस्तै सहायक प्रिन्सिपल नमराज दाहालले नैतिक शिक्षाको अपरिहार्यतामाथि जोड दिँदै वर्तमान शिक्षा प्रणालीमा मूल्य र मान्यताहरूको संरक्षण आवश्यक रहेको धारणा राख्दै ज्ञानकुञ्जले विद्यार्थीहरूमा नैतिकता, सामाजिक उत्तरदायित्व तथा सकारात्मक सोचको विकासका लागि विशेष पहल गर्दै आएको बताए ।
सोही अवसरमा कलाकर्मी भूषण भोमी श्रेष्ठ, कलाकर्मी तथा संचारकर्मी सचित खड्का र अन्तर्राष्ट्रिय भलिबल रेफ्रि विजय के.सी.लाई सम्मान गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुरकृष्ण वैद्यले शिक्षा प्रणालीलाई केवल परीक्षा र प्रमाणपत्रमा सीमित नराखी विद्यार्थीहरूको सृजनशीलता, नेतृत्व क्षमता तथा जीवनोपयोगी सीप विकासमा केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरे ।
हाँस्य कलाकार जितु नेपालले हाँस्यव्यंग्यमार्फत शिक्षा, जीवनशैली तथा सामाजिक मूल्यसँग सम्बन्धित सन्देश प्रस्तुत गरेको कार्यक्रममा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति गरिएको थियो ।