ट्रेण्डिङ

स्थायी लेखा नम्बर तथा करसम्बन्धी सामान्य सेवा अब रोशी गाउँपालिकाबाटै

स्थायी लेखा नम्बर तथा करसम्बन्धी सामान्य सेवा अब रोशी गाउँपालिकाबाटै

काभ्रे । नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सेवाहरू स्थानीय तहबाटै उपलब्ध गराउने नीतिअनुरूप बिहीबार काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच समझदारी भएको छ ।
अब गाउँपालिकाका नागरिकहरूले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिन आन्तरिक राजस्व कार्यालय धुलिखेलसम्म धाउनु नपर्ने गाउँपालिकाबाटै सहजै लिन सकिने छ ।
समझदारीअनुसार रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने नागरिक तथा व्यवसायीलाई व्यक्तिगत र व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी गर्नेछ । त्यसैगरी, गाउँपालिकाभित्र ठेगाना भएका व्यक्तिगत व्यवसाय तथा निकायहरूले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ताका लागि निवेदन दिएमा आवश्यक कागजात जाँच तथा भिडान गरी आन्तरिक राजस्व कार्यालय धुलिखेलमा सिफारिस गर्ने र दर्ता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
सेवा सञ्चालनका लागि आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको इन्टिग्रेटेड ट्याक्स सिस्टम प्रयोग गरिनेछ । यसका लागि आन्तरिक राजस्व कार्यालय धुलिखेलले गाउँपालिकाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्नुका साथै प्रणाली सञ्चालनका लागि युजर आइडी, पासवर्ड र प्राविधिक सहजीकरण उपलब्ध गराउनेछ ।
सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा भौतिक स्रोतसाधनको व्यवस्थापन गर्ने, सेवाग्राहीलाई करसम्बन्धी आवश्यक जानकारी तथा शिक्षा प्रदान गर्ने र सेवा सञ्चालनलाई प्रभावकारी बनाउन एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्ने समझदारीमा उल्लेख छ । स्थानीय तहबाट प्रदान गरिने सेवाका लागि सेवाग्राहीले संघीय राजस्वमा दाखिला गर्नुपर्ने कर तथा शुल्कबाहेक अन्य कुनै सेवा शुल्क वा दस्तुर बुझाउनुनपर्ने समझदारीमा उल्लेख गरिएको छ ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्यान बनाउन तथा करसम्बन्धी सामान्य सेवा लिनकै लागि धुलिखेलसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न गाउँपालिकाबाटै सेवा उपलब्ध गराउने समझदारी गरिएको बताउँदै सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै करसम्बन्धी सेवा प्राप्त गर्न भोग्नुपर्ने अनावश्यक झन्झटसमेत कम हुने बताए । समझदारीपत्रमा आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत अनमोलकुमार दाहाल र रोशी गाउँपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद दाहालले हस्ताक्षर गर्नुभएको छ ।