
काभ्रे । पाँचखालमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्ध पैदलयात्रीको मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयवासीले अरनिको राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्।
अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नं को बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो।
उपचारका क्रममा श्रेष्ठको मृत्यु भएपछि उनका आफन्तले चालकलाई कारबाही तथा क्षतिपूर्तिको माग गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन्। विहान ११ः३० देखि अबरुद्ध राममार्ग अझै खुल्न सकेको छैन ।
मृतकका पक्षले दोषीप्रति कानुनी कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको मागसहित राजमार्ग अवरुद्ध गरेपछि क्षेत्रको यातायात पूर्णरूपमा प्रभावित बनेको थियो।
घटनापछि चालक फरार भएपछि ठक्कर दिने बसलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
