
भक्तपुर । डेमोस स्कुल भक्तपुरले आफ्नो २५ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
भक्तपुर -४, भुलांचास्थित डेमोस इङ्गलिस स्कूलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा अभिभावक दिवस, पुरस्कार तथा तथा एस.ई.ई. २०८१ व्याचको बिदाइ कार्यक्रम एक भव्य समारोहका साथ सम्पन्न गरेको हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर लामाको सभापतित्वमा सम्पन्न समारोहमा अध्यक्ष लामाले विद्यालय स्थापनाको संघर्षपूर्ण इतिहास र उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रमको प्रमुख अतिथि एवं पाठ्यक्रम विकास केन्द्रका पूर्व सह-सचिव दिनानाथ गौतमले विद्यालयसँगको आफ्नो पुरानो आत्मीय सम्बन्धको चर्चा गर्दै विद्यालयको प्रगतिको प्रशंसा गरे ।
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले बालबालिकाको सुनौलो भविष्य निर्माणमा अभिभावक र विद्यालयको सहकार्य अपरिहार्य रहेको विचार व्यक्त गरे । समारोहमा बौद्धिक खुराक पस्कँदै इन्स्पिरेसनल किनोट स्पिकर तथा ग्लोबल ट्रेनर विकास देव योञ्जनले आधुनिक समयमा प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकालाई ‘साइबर क्राइम’ बाट सुरक्षित राख्न ‘चाइल्ड लक एप’ जस्ता सुरक्षा उपायहरू अपनाउन अभिभावकहरूलाई विशेष आग्रह समेत गरे ।
कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका उपाध्यक्ष रामप्रसाद खाताखो, श्रीराम सुवाल, मुकेश योन्जन, रेडियो नेपालका समाचार वाचक सूर्य मोक्तान, ग्रीन बुक्सका राजु महर्जन लगाएत विभिन्न शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रिन्सिपल विनोद लामाले विद्यालयको नामको गरिमा र यहाँका शैक्षिक गतिविधिहरूले समाजमा पारेको सकारात्मक प्रभावबारे धारणा राखे।
सोही अवसरमा स्पोर्ट्स मीट, हाजिरीजवाफ र कविता प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई मेडल र पुरस्कार प्रदान गरिनुका साथै ‘भक्तपुर स्पिकर सिजन–२’ मा उत्कृष्ट हुन सफल भाइबहिनीहरूलाई सम्मान समेत गरिएको कार्यक्रमको सञ्चालन विद्यालयकी कोअर्डिनेटर विष्णुमाया लामाले गरेकी थिइन् ।
