
काभ्रे । सदियौँ पुरानो धार्मिक र ऐतिहासिक धरोहर गोसाईस्थानमा जनैपूर्णीको भव्य मेला सञ्चालन गरिएको छ । हरेक वर्षझैं श्रावण शुक्ल पूर्णिमाको दिन गोसाईस्थानमा लाग्ने जनैपूर्णी मेलामा यस वर्ष पनि दर्शन गर्न आउने दर्शानार्थीको घुइँचो लागेको छ । मेलामा बिहानैदेखि रक्षाबन्धन गर्ने भक्तजन र जनै फेर्नहरुको भीड लागेको छ ।

किंवदन्तीअनुसार, देवता र दैत्यबीच समुद्रमन्थनका क्रममा उत्पन्न काल्कुट विष पिएर भगवान शिव जब हिमालयतर्फ गइरहेका थिए, त्यही क्रममा त्रिशुल रोपेर यहाँ जल उत्पन्न गरी शीतलता प्राप्त गरेका थिए। त्यसपछि रसुवागढीतर्फ प्रस्थान गर्दा यहाँ परेको पाइला आज पनि श्रद्धालुहरूका लागि आस्थाको प्रतीक बनेको छ ।
रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनहरु बनेपाको गोसाइँस्थान मन्दिरमा आई पूजाआजा र दर्शन गर्छन् ।

