काभ्रे । काभ्रेमा डेंगु सङ्क्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषमा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । साउन १ गतेदेखि हालसम्म १५९ पुरुष र १ सय १५२ जना महिला गरी जम्मा ३ सय ११ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो ।
सबैभन्दा बढी डेंगु संक्रमण बनेपा नगरपालिकामा देखिएको छ भने खानीखोला गाउँपालिकामा हालसम्म डेंगु संक्रमित फेला परेका छैनन् । बनेपा नगरपालिकामा ११६ जना, पनौतीमा ५६, धुलिखेलमा ४९, भुम्लु गाउँपालिकामा २४, मण्डनदेउपुर नगरपालिकामा १९, पाँचखालमा १९, नमोवुद्धमा १२, रोशी गाउँपालिकामा ९, बेथानचोकमा ३, तेमालमा १, महाभारतमा १ र चौंरीदेउराली गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
काभ्रेमा डेंगुु संक्रमण बढ्दै गएपछि सरकारीस्तरबाटै अभियान सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको कालिजंग गण, सशस्त्र प्रहरी र जिल्ला जनस्वास्थ्य कार्यालयले संयुक्त रुपमा अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।