
काभ्रे । जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा विहिबार डेंगी रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यालयका सूचना अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले डेंगी कसरी सर्छ ?, लाम्खुट्टेको जीवनचक्र, डेंगीको नियन्त्रणका बारेमा जानकारी दिएका छन् । डेंगी संक्रमण एडीज एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने जानकारी दिएका हुन्। डेंगी फैलाउने लामखुट्टे सामान्यतया बिहानको समय ८–१० बजे र दिउँसो ३–५ बजे सक्रिय हुन्छ । संक्रमित व्यक्तिलाई टोकिसकेको लामखुट्टेले अर्को स्वस्थ व्यक्तिलाई टोकेमा संक्रमण सर्ने सम्भावना उच्च रहने श्रेष्ठले बताए ।

तथ्यांकअनुसार डेंगुको प्रकोप २०१९ मा, सातै प्रदेश मिलेर ६८ जिल्लाबाट कुल १७ हजार ९ सय ९२ केसहरू रिपोर्ट गरिएका थियो । त्यसमध्ये सुनसरी जिल्लामा ३ हजार ४ सय ३१, चितवनमा ३ हजार ४ सय २, कास्कीमा २ हजार ८ सय २४, काठमाडौंमा १ हजार ५ सय ८९, ललितपुरमा ५ सय ९६ र झापामा ५ सय २५ जनामा प्रकोप देखिएको छ । डेंगीबाट चितवनमा २ सुनसरीमा १, सिन्धुपालनचोकमा १, काठमाडौंमा १ र डोटीमा १ गरी ५ जिल्लाबाट ६ जनाको डेंगुबाट मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको थियो ।
०७८/७९ मा ७ सय ३३, ०७९/८० मा ५६ हजार ३ सय ३८ र ०८०/८१ मा ४८ हजार ८ सय ८३ जना डेंगीबाट संक्रमित भएको तथ्यांकले जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा डेंगी संक्रमित ०८०/८१ मा ६ हजार ७ सय ६५ जना परीक्षण गरिएकोमा २ सय ३० जनामा संक्रमण देखिएको र ०८१/८२ मा ७ हजार ५ सय ७० जना परीक्षण गरिएकोमा ५ सय २ जनामा संक्रमण भएको तथ्यांकको आधारमा जानकारी गराइएको थियो ।
कार्यक्रममा उठेका जिज्ञासा जनस्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख रागीश्री कक्षपतिले मेटाएकी थिइन् ।
कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, स्वास्थ्य शाखाका प्रमुखहरू, सञ्चारकर्मी लगायत सराेकारवालाहरुको उपस्थिति रहेको थियो ।
